महामन्त्री कोइरालाले ठूला नेताहरूभित्र उथलपुथल ल्याइदिए

भरतपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति पदमा उम्मेदवारी दिने पुनः दोहो¥याएका छन् ।

चितवनको भरतपुरमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले सभापति पदमा उम्मेदवारी निर्णयबाट पछि नहट्ने बताएका हुन् । उनले आफू सभापतिको उमेदवार रहने बताए ।

‘हैन म कहाँ ब्याक हुन्छु ?’, प्रश्न गर्दै कोइरालाले भने, ‘म त उठ्ने नै प्रयत्न गर्दैछु ।’

कोइरालाले जिल्लाहरूमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु आफूहरूको बाध्यता रहेको बताएका छन् ।

क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको भन्दै महामन्त्री कोइरालाले विवाद मिलाउन कार्यतालिका संशोधन गरिएको बताएका छन् ।

नेता रामचन्द्र पौडेल समूहभित्र सभापतिका आकांक्षीहरू धेरै रहेका बेला महामन्त्री कोइरालाले सभापति पदमा पुनः दाबी गरेर गुटभित्र खैलाबैला मच्चाइदिएका छन् ।

कोइरालाको यो अभिव्यक्तिले नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालालगायतलाई झट्का लागेको छ । उनीहरू पनि सभापति पदमा उम्मेदवारी दिने बताइसकेका छन् ।

कम्युनिष्टहरू उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण संसदमा शुक्रबार भएको घटनाले पुष्टि गरेको कोइरालाले बताएका छन् ।

उनले विपक्षीको धर्म विरोध गर्ने भए पनि शुक्रबार एमालेले देखाएको उग्ररुपले संसदको गरिमामाथि आँच आउने काम भएको बताए ।

Published : Saturday, 2021 September 11, 4:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया