मन्त्रिमण्डल विस्तारमा यसरी बन्यो सहमति

काठमाडौं । सत्ता गठबन्धनका नेताहरू मन्त्रिमण्डल विस्तार गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा एक–दुई दिनमै मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको हो । मन्त्रिमण्डललाई दुई चरणमा विस्तार गर्ने सहमति भएको एक नेताले बताएका छन् ।

एमाले अध्यक्ष खड्गप्रसाद ओलीले नेकपा (एकीकृत समाजवादी)विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जसपाले निर्णय गरी नसकेकाले दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्ने सहमति जुटेको छ ।

पहिलो चरणमा कांग्रेस र माओवादीबाट मन्त्री थपिनेछन् । कांग्रेसबाट एक राज्यमन्त्रीसहित दुई मन्त्री छन् । माओवादी केन्द्रबाट दुई जना मन्त्री सहभागी छन् ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

बैठकमा एमसीसीको विषयमा पनि छलफल भएको छ । कांग्रेस एमसीसी पारित गरिहाल्नुपर्ने पक्षमा छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित गर्न नहुने पक्षमा छ ।

एकीकृत समाजवादीले सत्तारुढ दलहरूबीचको सहमतिमा मात्रै एमसीसीबारे निर्णय गर्नुपर्ने जनाएको छ ।

जनमोर्चा एमसीसीको विरोधमा छ । एमसीसीविरुद्ध जनमोर्चाले सडक आन्दोलन गरिरहेको छ ।

Published : Thursday, 2021 September 9, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया