कांग्रेसभित्र भाँडभैलो मच्चाएका अर्जुननरसिंह केसीको आफ्नै वडा अधिवेशनमा पत्तासाफ

विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको क्रियाशील सदस्यता रहेको वडामा केसी समूहको लज्जास्पद पराजय भएको छ ।

नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ मा भएको वडा अधिवेशनमा केसी समूहको पूरै टिम पराजित भएको छ । केन्द्रीय सदस्य केसीको वडामा सह–महामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.रामशरण महत समूहले क्लिन स्वीप पारेको हो ।

सह–महामन्त्री डा.महत निकट मानिने रामचन्द्र रिमाल वडा सभापतिमा भारी मतसहित निर्वाचित भएका छन् । रिमालले ११८ मतसहित जितेका छन् ।

रिमालका प्रतिद्वन्द्वी नेता केसी निकट मानिने मुकुन्दप्रसाद अधिकारी जम्मा ५५ मतसहित पराजित भएका छन् । केन्द्रीय सदस्य केसीले सभापतिमा उम्मेदवार बनाएका अधिकारी आधा मतअन्तरले पराजित भएका छन् ।

क्षेत्रीय प्रतिनिधिहरू हरिकृष्ण श्रेष्ठ, श्रीराम श्रेष्ठ, अच्युत गिरी, ध्रुबलाल श्रेष्ठ, दुर्गाराज पाठक, राजन श्रेष्ठ चयन भएका छन् ।

दिनेशकुमार श्रेष्ठ र रमेशमान श्रेष्ठ, रुकमिणी सेढाइँ, ज्ञानुमाया गिरी, गंगा नेपाली, लक्ष्मी घिमिरे, हरिशरण रिमाल, दशरथ थापा, सीताकुमारी श्रेष्ठ पनि क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

वडा अधिवेशनमा डा.महत समूहले सहमतिको प्रयास गरिएको थियो । केसी समूहले अबरोध सिर्जना गरेपछि निर्वाचन भएको थियो ।

केसी समूहले नुवाकोट जिल्लामा कांग्रेसभित्र भाँडभैलो मच्चाउँदै आएको छ । केसी समूहकै कारण नुवाकोटमा कांग्रेस कमजोर बनेको आरोप छ ।

लामो समयदेखि नुवाकोट कब्जा गरेको केसी समूहले १४औँ महाधिवेशनमा कांग्रेसको नेतृत्व गुमाउने पक्का जस्तै भएको छ ।

नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जिल्ला सभापतिहरूको भेलाका नाममा कांग्रेसभित्र भाँडभैलो मच्चाउँदै आएका छन् ।

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले गुटको भेलाहरू राखेर कांग्रेस नेतृत्वविरुद्ध हर्कत गर्दै आएका छन् । आफ्नै वडा बचाउन नसकेका केसीले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेकाले केसीको प्रतिनिधि भने बचेको छ ।

Published : Thursday, 2021 September 9, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया