देउवाका छोरा जयवीरले डडेल्धुराबाट राजनीति गर्ने, प्रतिनिधि बन्ने पक्का

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा २६ वर्षीय जयवीरसिंह देउवाले आफूलाई कांग्रेसको राजनीतिमा प्रवेश गराएका छन् ।

गृहजिल्ला डडेल्धुराबाट जयवीरले क्रियाशील सदस्यता लिएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट जयवीरले क्रियाशील सदस्यता लिएका छन् ।

उनको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरको नाम छ ।

कांग्रेसले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा जयवीर सिंह देउवाको नाम छ ।

जयवीर गाउँमा भने आएका छैनन् । भदौ १८ मा अधिवेशन गर्ने भने पनि २५ गतेका लागि सारिएको छ ।

जयवीरलाई पनि क्षेत्रीय प्रतिनिधि बनाउने तयारी भएको एक नेताले बताएका छन् । जयवीरले भ्रातृ संगठनमा बसेर काम गरेका छैनन् । उनी सिधै कांग्रेसको राजनीतिमा छिरेका छन् ।

जयवीरले बेलायतमा पढेका हुन् । युनिभर्सिटी अफ योर्कबाट उनले राजनीति शास्त्रमा एमए गरेका छन् ।

निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले भदौ २५ गते वडा अधिवेशन हुने सूचना निकालेका छन् ।

Published : Wednesday, 2021 September 8, 7:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया