ठेकेदारसँग मिलेर बैंक डुबाउन खोज्नेहरू अख्तियारको फन्दामा

काठमाडौं । नेपाल बैंक लिमिटेडका सहायक पदमा कार्यरत सन्तोषविक्रम शाहसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा तीनजनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

नेपाल बैंक लिमिटेडले मलंगवा शाखाको ऋण फाँटमा सहायक पदमा कार्यरत शाह तथा लोकवीर बेताली/पाँचकुमारी जे.भी.का अनिल गुप्ता र शिवनन्दन पासवानविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो ।

उनीहरूविरुद्ध लालबन्दी नगरपालिकाको भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैंक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको उजुरी परेको थियो ।

नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

रिसालका अनुसार निजहरूउपर ४२ लाख रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) अनुसार सजाय र बिगो जफतसमेत हुन मागदाबी गरिएको छ ।

Published : Tuesday, 2021 September 7, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया