मंगलबारसम्म ५४ जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको ५४ जिल्लामा गाउँ र नगर अधिवेशनहरू सम्पन्न भएका छन् ।

१४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि वडा र गाउँ अधिवेशन शुरु भएको हो । मंगलबारसम्म ५४ जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ५४ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये भदौ १८ गते ३५ जिल्ला, भदौ १९ गते दुई जिल्ला, भदौ २० गते एक जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन् ।

भदौ २१ गते ११ र आज भदौ २२ गते पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।

भदौ २३ गते रुकुम पूर्व र रुकुम पश्चिममा अधिवेशन हुन लागेको संयोजक यादवले बताएका छन् ।

२० जिल्लामा क्रियाशील सदस्यता नामावली प्रकाशनको हालसम्म टुङ्गो लाग्न सकेको छैन ।

अधिवेशन हुन बाँकी जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट नामावली प्राप्त हुनासाथ तत्काल निर्वाचन अधिकृत खटाई अधिवेशन गराउने तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ र नगर वडा अधिवेशनका मतदाता हुन् ।

क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् ।

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उप–सभापति दुई, सचिव दुई र सह–सचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।

मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् ।

गाउँ र नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते निर्धारण गरिएको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

Published : Tuesday, 2021 September 7, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया