विश्वप्रकाशले महेश बस्नेत र प्रभु साहको नक्कल गरे, विभागको हर्कतले कांग्रेसलाई दाग लाग्यो

काठमाडौं । नेपाली कांग्रेसको ‘प्रविधि मैत्री कांग्रेस’ अभियान अन्तर्गत ‘नेपाली कांग्रेस वाइड्ली इन्फर्मेशन नेटवर्क’ (एनसी वीन) गठन गरेको छ ।

नेपाली कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागले महाधिवेशन पूर्व सन्ध्यामा विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

विभागले नेपाली कांग्रेसको १४ महाधिवेशनको प्रचारात्मक नाराहरू पनि तयर पारेको छ ।

‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔं १४औं महाधिवेशन’ तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका दर्जन बढी विषयमा ‘प्यानल डिस्कसन’ गरिनेछन् ।

अल्पकालीन काममा विभागले स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद ‘वार रुम’को (संगठित अवधारणा बमोजिम)को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने निर्णय गरेको छ ।

यसअघि, एमालेका नेताहरू महेश बस्नेतले साइबर सेना र प्रभु साहले आईटी आर्मी गठन गरेका थिए । बस्नेत र साहको नक्कल गर्दै कांग्रेसका प्रवक्ता समेत रहेका विभागका प्रमुख विश्वप्रकाश शर्माले ‘वार रुम’ बनाउने निर्णय गरेका छन् ।

एमालेलाई काउन्टर दिने शैलीमा गरिएका निर्णयको सामाजिक सञ्जालमा आलोचना भएका छन् । कांग्रेसलाई साइबर सेना वा आईटी आर्मी जस्तो संरचना आवश्यक नपर्ने प्रतिक्रिया आएका छन् ।

दीर्घकालीन काममा पार्टीको विभिन्न तहलाई प्रविधि मार्फतको सहजीकरण र सामाजिक संजाल मार्फत सकारात्मक सामाजिक प्रभावका लागि दीर्घकालीन उपयोगमा केन्द्रित रहनेछ ।

विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक संजाल उप–समितिका संयोजक ई. दीपेश विष्टको संयोजकत्वमा एनसी वीनको २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरिएको छ ।

विभागले एनसी वीनको संरचनाका लागि कार्यविधि र आचारसंहिता निर्माण गरेर पारित गरेको छ ।

नेपाली कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभाग गठन पश्चात् विभिन्न समयमा गठित उप–समिति एवं कार्यदलका संयोजक र सदस्यहरूलाई बधाई तथा सम्मान ज्ञापन पत्र प्रदान गर्न महाधिवेशन पूर्व काठमाडांैमा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

विभागका सदस्य रामचन्द्र घिमिरेको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेसको नेतृत्वमा हासिल उपलब्धि अध्ययन कार्यदल’ले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै बैठकले संयोजक र कार्यदल सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

उत्साह, एकता र रुपान्तरणको भावना अनुरुप महाधिवेशनको महायज्ञमा सरिक हुन देशभरको पार्टी पंक्तिलाई अपील गर्ने निर्णय बैठकले गरेको छ ।

Published : Tuesday, 2021 September 7, 3:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया