महेशजी मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनुस् : सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताएका छन् ।

शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका–५ को वडा अधिवेशनको उद्घाटनका क्रममा देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताए ।

सभापति देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन एमालेका नेता महेश बस्नेतलाई चुनौती दिएका छन् ।

भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा विजय हासिल गर्ने बताएका थिए ।

सभापति देउवाद्वारा अधिवेशन उद्घाटन गरिएको वडा एमालेका नेता बस्नेतकै निर्वाचन क्षेत्रमा पर्छ ।

देउवाले कांग्रेस सशक्त ढंगले अघि बढिसकेको बताएका छन् । उनले भने, ‘बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

देउवाले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुवात गरेको भन्दै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्दै पार्टी थप सशक्त ढंगले अघि बढ्ने बताएका छन् ।

महाधिवेशन सफल बनाउन एकताबद्ध भएर लाग्न पनि सभापति देउवाले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

Published : Friday, 2021 September 3, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया