एआईजीहरूको सरुवा, ओली निकटका थापा कहाँ पुगे ? मेट्रोमा पालले जरो गाडे

काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)हरूको सरुवा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना एआईजीहरूको सरुवा गरेको उच्च स्रोतले जनाएको छ । एआईजीहरूको सरुवा भएपनि गृह मन्त्रालयबाट प्रहरी हेडक्वाटरमा पत्र पुगेको छैन । संभवत शुक्रबारसम्म पत्र हेडक्वाटरमा जानेछ ।

सरकारले एआईजी हरिबहादुर पाललाई पुरानै ठाउँमा राखेको छ । पालले महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) छाड्न नचाहेपछि मेट्रोमा अड्डा जमाएर बसेका छन् । एआईजीहरूका लागि मेट्रो आकर्षक ठाउँमा पर्छ ।

सरकारले अर्का एआईजी विश्वराज पोखरेललाई मानव स्रोत एवम् प्रशासन विभागमा सरुवा गरेको छ । पोखरेल अपराध अनुसन्धान विभागमा थिए ।

अपराध अनुसन्धान विभागमा एआईजी प्रद्युम्न कार्कीको सरुवा भएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा एआईजी निरज शाहीको सरुवा भएको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले डीआईजीबाट एआईजीमा भरखरै बढुवा गरिदिएका एआईजी सहकुलबहादुर थापालाई सरकारले कार्य विभाग प्रमुखमा पदस्थापन गरेको छ । थापालाई नियम मिचेर ओलीले एआईजी बनाएको आरोप छ ।

एमालेका नेता महेश बस्नेतसहितका नेताहरू दवावमा भक्तपुर निवासी थापालाई एआईजीमा बढुवा गरेको आरोप पनि छ ।

Published : Thursday, 2021 September 2, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया