उत्पात काण्ड गर्ने रौतहटका एसपी शाह हेडक्वाटर तानिए, जागिर नै धरापमा

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले पत्रकारलाई फसाउन लागुऔषध राख्न लगाउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख (एसपी) सिद्धिविक्रम शाहलाई हेडक्वाटर तानिएको छन् ।

एसपी शाहलाई फिर्ता बोलाइएपछि उनको ठाउँमा अर्को एसपी पठाउने तयारी भएको स्रोतले जनाएको छ ।

साउन ३२ गते रौतहटका पत्रकार मोहम्मद मोजीबुल्लाको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजेको प्रकरणमा एसपी शाह मुछिएका छन् ।

एसपी शाहसँग सोधपुछका लागि भन्दै प्रहरी हेडक्वार्टरले बुधबार काठमाडौं बोलाएको छ ।

घटनाबारे छानविन गर्न प्रहरी हेडक्वार्टरले एसएसपी कृष्ण महतको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिले छानविन आफ्नो काम शुरु गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिएका छन् ।

एसपी शाहको ठाउँमा कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न भने बाँकी रहेको प्रवक्ता कुँवरले बताएका छन् ।

पत्रकार मोजीबुल्लाको मोटरसाइकलमा प्रहरी आफैँले लागूऔषध राखिदिएर पछि चेकजाँच गरेर पक्राउ गरी फसाउने काममा संलग्न भएका दुई जना प्रहरी निलम्बन भइसकेका छन् ।

मोजीबुल्लाको मोटरसाइकलमा लागूऔषध राख्दै गरेको भिडियो सार्वजनिक भएपछि उनीहरू निलम्बनमा परेका हुन् ।

घटनामा संलग्नताको आरोप लागेका पत्रकार सञ्जय सहनीसँगको टेलिफोन संवाद बाहिरिएपछि एसपी शाहको हर्कतको भण्डाफोर भएको छ ।

एसपी शाहले फरक प्रसंगमा भएको कुराकानीको फोन रेकर्ड सार्वजनिक गरेर आफूलाई विवादमा पारिएको बताउने गरेका छन् ।

Published : Thursday, 2021 August 26, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया