स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको कामबाट सांसदहरू गदगद, देउवा सरकारको गज्जब काम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकमा श्रेष्ठले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए ।

उनले भने, ‘खोप लगाउने कार्य तीब्र जारी छ । दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ ।’

हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिएका छन् ।

वर्तमान सरकारले कोरोनाविरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

उनले सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको बताएका छन् ।

जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी डोज खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्टयाएर हाल लगाउने काम जारी रहेको श्रेष्ठले बताएका छन् ।

काठमाडौं उपत्यकामा ६० हजार विद्यार्थीलाई लगाउने लक्ष्यमध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् ।

विगतमा रकम तिरिसकेको १० लाख डोज खोप आपूर्ति गर्ने सम्बन्धमा नेपालका लागि भारतीय राजदूतसित छलफल भएको राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।

अठार वर्षभन्दा कम उमेर भएकाका लागि मोडर्ना र फाइजरको खोप आपूर्तिको पहल भइरहेको उनले बताएका छन् ।

उनले कक्षा १२ को परीक्षा यही भदौ अन्तिम वा असोज पहिलो साता गर्ने योजना रहेको बताएका छन् । उनले होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने योजना रहेको बताए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले कोरोनाबाट जनताको जीवन बचाउन कोरोनाविरुद्धको खोपमा ध्यान केन्द्रित गरेको छ ।

खड्गप्रसाद ओली नेतृत्वको तत्कालीन सरकारले खोप ल्याउन सकेको थिएन । अहिलेको सरकारले खोप धमाधम ल्याएर जनतालाई लगाइदिएको छ ।

Published : Thursday, 2021 August 26, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया