देउवा सरकार सफल बन्यो भने कांग्रेस बलियो हुन्छ, सडकमा विवाद नगरौँः सभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेस मनाङका जिल्ला सभापति एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताएका छन् ।

बिहीबार रिपब्लिका दैनिकसँग कुरा गर्दै सभापति गुरुङले कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई सफल बनाउनुपर्ने दायित्व सबै नेता कार्यकर्ताको रहेको बताएका हुन् ।

उनले कांग्रेसका नेता कार्यकर्ताको सहयोगले मात्रै प्रधानमन्त्री देउवा जनताका काम गर्न सफल हुने बताए । देउवालाई अहिलेदेखि नै असहयोग गर्ने र सरकार असफल भयो भने त्यसको जिम्मेवारी नेता कार्यकर्ताले पनि लिनुपर्ने बताए ।

पार्टीकै निर्णयबाट देउवा प्रधानमन्त्री बनेको भन्दै गुरुङले चुनौतीपूर्ण अवस्थाको ध्यान राख्न आग्रह गरेका छन् ।

उनले ५ वर्षसम्म विपक्षमा बस्ने म्याण्डेट पाएको कांग्रेसलाई साढे तीन वर्षमा सरकारको नेतृत्व सम्हाल्ने अवसर र चुनौती आएको भन्दै मिलेर जाँदा नै आगामी निर्वाचनमा कांग्रेसको जित झन् सुनिश्चित हुने बताए ।

उनले भने, ‘जनताले कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको बहुमत दिएका थिए । राजनीतिक स्थिरताका लागि जनताले दिएको भोटको सम्मान हुन सकेन । मुलुकलाई सम्हाल्न कांग्रेसको नेतृत्व चाहिएको छ ।’

पूर्वमन्त्री गुरुङले विभिन्न जिल्लाका पार्टी सभापतिहरूबाट धर्ना, बैठक, भेलाहरू गरेको प्रति असन्तुष्टि जनाएका छन् । उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ । गठबन्धनको सरकार बनेको छ । हामीले यो सरकारलाई सहयोग गर्नुपर्छ । पार्टीभित्रका असहमति र असन्तुष्टि छन् भने पार्टीभित्रै मिलाउनुपर्छ । पार्टीभित्रको विवाद सडकमा लगेर रमिता देखाउनु हुँदैन ।’

सभापति गुरुङले भने, ‘कांग्रेसभित्र सबै कुरा सबैलाई चित्त नबुझ्न सक्छ । चित्त नबुझेको कुरालाई नेतृत्वसँग छलफल गरेर मिलाउन सकिन्छ ।’

सभापति गुरुङले तत्कालीन दुईतिहाइको कम्युनिस्ट सरकारभित्र नेताहरूबीचको असमझदारीले गर्दा पार्टी फुट्नेदेखि सरकार ढल्नेसम्मका गतिविधि भएको उदाहरण दिँदै त्यो विषयलाई कांग्रेसका जिल्ला सभापति र शीर्ष नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

सभापति गुरुङले पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल वा अन्य शीर्ष नेताहरूलाई गालीगलौज गरेर कांग्रेसको कहिल्यै पनि हित नहुने बताए । ‘सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूको सम्मान गर्नुपर्छ’, उनले भने, ‘आफ्नै दलका सम्मान गर्नुपर्ने नेताहरूको अनादर गरेर अभिव्यक्ति दिने कार्य रोकिनुपर्छ । होइन भने कांग्रेसमा अराजकता निम्तिन सक्छ ।’

गुरुङले १४औँ महाधिवेशन तोकिएको समयमा गर्नुपर्नेमा कसैको पनि दुईमत नरहेको बताए । उनले महाधिवेशन समयमा हुन नसक्नुमा एउटा कारण कोरोना महामारी पनि रहेको भन्दै मिलेर महाधिवेशन गर्नेतिर लाग्दा नै कांग्रेसको हित हुने बताएका छन् । उनले महाधिवेशनका नाममा एकले अर्कालाई खुइल्याउने कार्यले कार्यकर्तामा राम्रो सन्देश नजाने बताए ।

मनाङ कांग्रेसका सभापति गुरुङलाई काठमाडौंमा जिल्ला सभापतिहरूका नाममा हुने बैठक र भेलाहरूमा निम्तो आउने गरेको छ । तर, उनी ती बैठक र भेलामा जाने गरेका छैनन् । गुटका बैठक र भेला गर्दा झ्न असहज वातावरण बनेर समस्या उत्पन्न हुनेभन्दै पार्टी सभापति प्रधानमन्त्री बनेका बेला नेताहरूले जिम्मेवारीबोध गर्नुपर्ने बताएका छन् ।

Published : Thursday, 2021 August 26, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया