एमाले दुई टुक्रा भएकै राति बालकोटमा ‘बा’को नाचगान र भोज, महिलाको हात समातेर ताने

काठमाडौं । नेकपा (एमाले) विभाजन भएर दुई टुक्रा भएका दिन राति अध्यक्ष खड्गप्रसाद ओलीले पत्नी राधिका शाक्यको जन्मदिनमा भव्य पार्टी गरेका छन् ।

भक्तपुर जिल्लाको बालकोटस्थित निवासमा ओलीले बुधबार राति पत्नी शाक्यको जन्मदिन भव्यताका साथ मनाएका हुन् । उनी कम्मर मर्काइ मर्काइ नाचेका थिए । शाक्य पनि नाचेकी थिइन् ।

मास्क नलगएर नाचेका ओलीले कालो ड्रेस लगाएकी एक महिला कार्यकर्तालाई हातबाट तानेर सँगै नाचेको भिडियोमा देख्न सकिन्छ ।

गायक शिशिर योगीको स्वर रहेको ‘म त कति भाग्यमानी’ बोलको गीतमा ओली नाचेका थिए । ओलीको शब्द रहेको यो गीतका संगीतकार शिशिर योगी नै हुन् ।

पार्टीभित्रको विवाद सम्हाल्न नसक्दा ओलीले नेकपा र एमाले पार्टीलाई विभाजन गरेका छन् । आफ्नै कारणले प्रधानमन्त्री पदबाट समेत गलहत्याइएका छन् ।

बुधबार साँझ माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएको छ । निर्वाचन आयोगले नेपाललाई दल दर्ताको प्रमाणपत्र समेत दिएको छ ।

ओलीले आफ्ना विरोधी नेताहरू अलग दल दर्ता गरेर बाहिरिएको खुसीयालीमा जसरी बालकोटमा भोजभतेरसहित रमाइलो गरेका छन् । ओलीले आफूलाई ‘बा’ भनेर सम्बोधन गरेको रुचाउँछन् । ओलीको ‘बा’ संस्कृतिको एमालेभित्र धेरै नेताहरूलाई मन परेको छैन ।

ओलीको नाचगान र भोजभतेरको भिडियो रातोपाटीले आफ्नो युट्युब च्यानलमा राखेको छ ।

Published : Thursday, 2021 August 26, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया