चलखेल गरेर मन्त्री बनेका थापाको बेहोस हुने सम्पत्ति

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छन् ।

११ जना मन्त्रीमध्ये ९ जनाले सम्पत्ति विवरण बुझाएका हुन् । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र कृषिमन्त्री चन्द्र बुढाले भने सम्पत्ति विवरण बुझाएका छैनन् ।

सम्पत्ति विवरण अनुसार कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा सबैभन्दा धनी छन् । थापा चलखेल गरेर मन्त्री बनेको आरोप छ । मन्त्री बन्दा उनी निकै विवादमा परेका थिए । थापाले डोबाटे विश्वकर्मालाई हटाउन लगाएर उनको ठाउँमा मन्त्री बनेको आरोप छ ।

उनको पोखराका विभिन्न ठाउँमा ६ वटा घर तथा विभिन्न ठाउँमा होटलहरू छन् । उनले आफूसँग १५ तोला हिरा, ९० तोला सुन, ५० तोला चाँदी, विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झण्डै १० करोड नगद मौज्दात, साढे सात लाख कित्ता शेयर रहेको उल्लेख गरेका छन् ।

थापाले सबै सम्पत्ति सगोलमा र विभिन्न बैंकमा ३० करोड हाराहारी ऋण रहेको पनि जनाएका छन् ।

वनमन्त्री दीपक थापासँग स्याङ्जाको ८ रोपनीमा उनले सुन्तला बगैँचा छ । २५ वटा बाख्रा, ७ सय ५० बोट सुन्तला, ६ रोपनी जग्गामा नर्सरी रहेको उनले बताएका छन् ।

स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर २ मा पैतृक र खरिद गरेको जग्गा तथा पोखरा १४ मा ४० लाख रुपियाँको जग्गा भएको उनले बताएका छन् ।

उनले विभिन्न बैंकमा १५ हजार नगद, ३० तोला सुन र २० तोला चाँदी रहेको जनाएका छन् । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६१ लाख ५० हजार ऋण लिएको उल्लेख गरेका छन् ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मासँग बाग्लुङ रुपन्देही र चितवनमा जग्गा रहेको छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा सवा २ लाख नगद रहेको जनाएका छन् । विभिन्न कम्पनीको ८५ लाखको शेयर र २ करोड ४० लाख रुपियाँ ऋण रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग काठमाडौंमा १५ आना जग्गा तथा तनहुँमा साढे ६ रोपनी जमीन रहेको जनाएका छन् । मुख्यमन्त्री पोखरेलकी श्रीमती लता पोखरेलको नाममा ३ आना ४ पैसामा बनेको साढे २ तले पक्की घर छ ।

तलब बापत बैंकमा ५ लाख रुपियाँ बचत रहेको तथा ५ तोला सुन रहेको पोखरेलले उल्लेख गरेका छन् । उनले कृषि विकास बैंकबाट २५ लाख ऋण लिएको जनाएका छन् ।

अर्थमन्त्री रामजी बरालको पोखरामा २२ मा १ रोपनी ४ आना तथा थप ७ हजार २ सय ५ वर्गमिटर पैतृक जग्गा, ४७ लाखमा किनेको थप जग्गा छ ।

पोखरेलले आफूसँग १० हजारको शेयर, नगद ३ लाख र सुन ४ तोला तथा छोरा र बुहारीको नाममा २ वटा मोटरसाइकल र एउटा स्कुटर रहेको जनाएका छन् । मुख्यमन्त्री पोखरेलसँग ६० हजार रुपियाँमा किनेको एउटा गाई पनि छ ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कासँग पोखरा–१६ दीपमा ३८२ वर्गमिटर जग्गा र पक्की घर छ । श्रीमती कमला खड्काको नाममा पोखरा ३३ मा २२२ वर्गमिटर जग्गा छ ।

आफूसँग एक करोड ३२ हजार नगद र ५६ लाख ५० हजारको शेयर रहेको खड्काले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । खड्कासँग ९५ तोला सुन र ४३ लाखको गाडी पनि छ ।

ऊर्जामन्त्री हरिशरण आचार्यले आफूसँग बुबाको नाममा गोरखा पालुङटारमा जग्गा, ८ तोला सुन र ५ तोला चाँदी रहेको जनाएका छन् । उनले विभिन्न बैंकमा ५० हजार नगद छभने कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिएका छन् ।

स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले आफूसँग लमजुङ, चितवन र मकवानपुरमा जग्गा रहेको छ । उनीसँग ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर रहेको छ ।

शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफूसँग १५ लाख नगद, १ किलो १९ तोला सुन, ७ किलो २ तोला चाँदी र एउटा हिराको औँठी रहेको छ ।

उनले स्याङ्जा र काठमाडौंमा दुई वटा घर तथा काठमाडौं, पोखरा र स्याङ्जाका विभिन्न ठाउँमा जग्गा रहेको जनाएका छन् । मन्त्री श्रेष्ठले ८ करोड रुपियाँ ऋण पनि रहेको जनाएका छन् ।

Published : Thursday, 2021 August 26, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया