ओलीको ओठमुख सुक्ने निर्णय, फत्ते भयो काम

काठमाडौं । निर्वाचन आयोगले एमालेबाट विभाजन भएको नयाँ दल नेकपा (एकीकृत समाजवादी) लाई दर्ता गर्ने निर्णय गरेको छ ।

आयोगले बुधबार माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)को निवेदनलाई सदर गर्दै दल दर्ता गर्ने निर्णय गरेको हो ।

आयोगले दल दर्ता गरेसँगै खड्गप्रसाद ओली नेतृत्वको एमाले पार्टी विभाजन भएको छ । योसँगै एमाले दोस्रो पटक विभाजन भएको छ ।

यसअघि बामदेव गौतमले एमालेलाई फुटाएका थिए । एमाले फुटाएका गौतमले नेकपा (माले) भन्ने पार्टी गठन गरेका थिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ता गरेर प्रमाणपत्र दिने निर्णय भएको बताएका छन् ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ बमोजिम दल दर्ता गरी दर्ताको प्रमाणपत्र समेत प्रदान गरेको छ ।

नयाँ दर्ता भएको दलको केन्द्री कार्यलय काठमाडौंको नयाँ बानेश्वरमा हुने विवरण निर्वाचन आयोगमा उल्लेख गरिएको छ ।

एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि माधव नेपालसहित एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना प्रतिनिधि सभाका सांसदले निर्वाचन आयोगमा पुगेर सनाखत गराएका थिए ।

एमालेका अन्य ४ जना सांसदहरूले समेत नयाँ पार्टीको पक्षमा रहेको भनेर निवेदन दिए पनि आयोगले उनीहरूलाई भने सनाखतमा समावेश गरेको छैन ।

झण्डै दुईतिहाइको बहुमत पाएका अध्यक्ष ओलीले पार्टीभित्रको विवाद मिलाउन नसक्दा पार्टी विभाजन हुने अवस्थामा पुर्‍याएका छन् ।

सत्ता पनि गुमाएका छन् । पाँच वर्षका लागि सत्तामा पुगेका ओलीको अहँकारले गर्दा यो हबिगतीमा पुगेबा छन् ।

Published : Wednesday, 2021 August 25, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया