सहकारी बैंकको कार्यालय स्थापना, कांग्रेस नेता ढुंगानाद्वारा उद्घाटन

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक(प्रस्तावित)को सम्पर्क कार्यालयको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् वित्तीय तथा सहकारी संस्था समन्वय विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाले उद्घाटन गरेका छन् ।

प्रस्तावित बैंकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिनापछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्नेछ ।

प्रस्तावित बैंकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउँदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ ।

नेपाली कांग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैंक सञ्चालनमा आउने बताएका छन् । ‘पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैंकको अपरिहार्य रहेको छ’, उनले भनेका छन् ।

‘जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ प्रगति हुन्छ’, ढुंगानाले भने, ‘सोही आधारमा नेपाल सहकारी बैंक दर्ता प्रकृया अघि बढेको छ ।’

उनले एउटामात्र बैंकले करीव ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैंक स्थापना गर्न लागिएकोमा खुसी लागेको बताए । ढुंगानाले कांग्रेसले सहकारी बैंकलाई सक्दो सहयोग गर्ने बताए ।

प्रधनमन्त्री शेरबहादुर देउवाको समेत प्रस्तावित सहकारी बैंक स्थापना गर्ने चाहना रहेको नेता ढुंगानाले बताए ।

प्रस्ताबित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ् कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथ नेपाल सहकारी बैंक सञ्चालनमा आउने बताए । उनले भने, ‘लाइसन पाउनासाथ कारोबार शुरु गरिहाल्नेछौँ ।’

‘केही साथीले यो बैंकलाई नेपाली कांग्रेसको बैंक भनेरहल्ला गर्दै हिँडेका छन् । केही ले त बैंक खोल्न दिनै हुँदैन भन्ने गरेका छन्’, अध्यक्ष भण्डारीले भने, ‘म भन्छु यो बैंक कुनै पार्टी विशेषको नभएर देशभरका सहकारीहरूको सेवामा समर्पित बैंक हो । यसलाई पार्टी विशेषको हो भन्न मिल्दैन ।’

प्रतिस्पर्धात्मक मुलुकमा यही प्रकृतिका करीव ६ वटा बैंक आवश्यक रहेको भण्डारीले बताएका छन् । सरकारले प्रकृया अघिबढाउन सहजीकरण गर्नुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘अब यो बैंक अघिबढिसकेको छ । आशयपत्र लिनासाथ देशैभर कारोबार अघि बढाउनेछौं ।’

राष्ट्र बैंकले तोकेअनुसारको सबै प्रकृया पूरा गरी अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले अबको ६ महिनाभित्र अनु्मतिपत्र पाएर बैंक सञ्चालनमा आउने बताएका छन् ।

अध्यक्ष भण्डारीले राष्ट्र बैंक ऐनमा सहकारी बैंकसम्वन्धी व्यवस्था पनि थप हुनुपर्ने माग गरेका छन् । सहकारी बैंक थपिँदा प्रतिस्पर्धा भई प्रारम्भिक सहकारी संस्थाहरूले राम्रो सेवा पाउने र ग्रामीण क्षेत्रमा पुँजीको विस्तार गर्न सहयोग पुग्ने उनले बताएका छन् ।

साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उनको भनाई छ ।

यसअघि बैंकले गएको माघ १७ गते प्रारम्भीक भेला आयोगना गरी बैंक स्थापनाको प्रकया शुरु गरेको थियो ।

सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको बैंक संचालनमा छ । ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरू गठन गर्न सकिने कुरा उल्लेख छ । सोही ऐन अनुसार बैक स्थापान प्रकृया अघि बढाइएको हो ।

त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ संस्था वा संघ हुनुपर्ने व्यवस्था छ ।

सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । सहकारी ऐनले सहकारी बैंकको सेयर पुँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने प्रावधान राखिएको छ । प्रस्ताबित बैकले सबै प्रकृया पूरा गरी अन्तिम प्रकृया पूरा गर्न राष्ट्र बैकमा काजगपत्र पेश गरिसकेको छ ।

Published : Friday, 2021 August 20, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया