कांग्रेसका हुतिहाराहरू ओलीको पक्षमा लागेपछि खतिवडा सरकारको बचाउमा उभिए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले माधव नेपाल र महन्थ ठाकुरलाई दल विहीन बनाउन नहुने बताएका छन् ।

लोकतन्त्र र प्रतिगमनका विरुद्ध संघर्ष गरेका नेपाल र ठाकुरलाई दल विहीन बनाउँदा लोकतन्त्रको उपहास हुने बताए । ‘माधव नेपाललाई केपी ओलीजीले दल बिहीन बनाउनु भएको छ । महन्थ ठाकुर पनि दल विहीन बन्नुभएको छ’, खतिवडाले भने, ‘लोकतान्त्रिक आन्दोलनमा उहाँहरूको योगदानको अबमूल्यन गर्नु हुँदैन ।’

नेता खतिवडाले गठबन्धनभित्र छलफल र परामर्श गरेर ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशले दल विहीन बनेका नेताहरूको उद्धार गरिएको बताए ।

‘एक वर्ष अगाडि ओलीजीले नै अध्यादेश ल्याउनुभएको थियो । अहिले ओलीजीले दल विहीन बनाउनुभएका र ओलीका कारण दल विहीन बनेका नेताहरूलाई दलको नेता बनाउन अध्यादेश आएको हो’, उनले भने ।

अध्यादेश ल्याउने वातावरण ओलीले नै बनाएको खतिवडाको भनाइ छ । ‘जनताले कम्युनिस्टलाई दुईतिहाइ बहुमत दिए । ओलीजीले सरकार र पार्टी दुबै चलाउन सक्नु भएन’, उनले भने, ‘यस्तो अवस्थामा कांग्रेसले बहुदलीय प्रजातन्त्रको रक्षाका लागि अध्यादेश ल्याएको छ ।’

कांग्रेसले बहुदलप्रति विश्वास गर्ने पार्टी भएको बताएका नेता खतिवडाले भने, ‘कांग्रेस संसदीय व्यवस्था र बहुदलीय प्रजातन्त्रमा प्रतिवद्ध छ । बहुदलीय व्यवस्था र प्रजातन्त्रमा प्रतिगमनविरुद्ध आन्दोलन गरेको नेतालाई दल विहीन बन्न कांग्रेसले दिँदैन ।’

नेपाली कांग्रेस नेतृत्वको सरकारले अध्यादेशको विरोध गरिरहेका बेला नेता खतिवडाले अध्यादेशको बचाउ गर्दै सरकारको रक्षामा उभिएका छन् ।

शेखर कोइराला, प्रदीप पौडेल, धनराज गुरुङसहितका नेताहरूले अध्यादेशको विरोध गर्दै एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पक्षमा अभिव्यक्ति दिएर सरकारको आलोचना गरेका छन् ।

Published : Wednesday, 2021 August 18, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया