खसी काण्डमा परेका डिएसपी शाही फेल, नेपालगञ्जका तरुण अध्यक्ष शाहले न्याय पाए

नेपालगञ्ज । उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले नेपाल तरुण दल नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजंग शाहलाई सफाइ दिएको छ ।

न्यायाधीशद्वय केशवराज जोशी र ध्रुब नन्दनको संयुक्त इजलासले अध्यक्ष शाहलाई सफाइ दिएको हो । अध्यक्ष शाहले न्यायालयबाट साउन ३१ गते अर्थात २१ महिनापछि न्याय पाएका छन् ।

तरुण दलका नगर अध्यक्ष शाहलाई कोहल प्रहरीका तत्कालीन प्रमुख डिएसपी हेमबहादुर शाहीले हतियार मुद्दामा फसाउने प्रयास गरेका थिए । डिएसपी शाही विवादमा तानिएपछि उनलाई समय अगावै कोहलपुरबाट हटाइएको थियो ।

डिएसपी शाहीले तरुण अध्यक्ष शाहसँग खसी मागेका थिए । खसी नपाएपछि डिएसपी शाहीले तरुण अध्यक्ष शाहलाई गोली हान्ने धम्की दिनुका साथै फसाउने धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

हतियार मुद्दामा फसाइएका तरुण दलका अध्यक्ष शाहलाई ११ महिना पुर्पक्षका लागि बाँके कारागार राखिएको थियो ।

अध्यक्ष शाहको गाडीमा अमेरिकन पेस्तोल फेला परेको भन्दै २०७६ कात्तिक १४ गते कोहलपुर प्रहरीले नमस्ते रिसोर्टबाट पक्राउ गरेर हतियार तथा खरखजानाको मुद्दा दर्ता गराएको थियो ।

तरुण दलका अध्यक्ष शाहलाई न्यायाधीश दिलिपराज पन्तको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

नेपालगञ्ग नगरका तरुण दलका अध्यक्ष शाहले आफूले न्यायालयबाट न्याय पाएको बताएका छन् । उनले निर्दोष साबित भएको बताएका छन् ।

अध्यक्ष शाहले आफूलाई फसाएर राजनीति समाप्त गर्न खोज्ने बताएका छन् । उनले तरुण दललाई कमजोर बनाउने योजनाहरू पनि असफल भएको बताएका छन् ।

अध्यक्ष शाहले आफूलाई फसाउन अहम भूमिका खेल्ने कोहलपुरका तत्कालीन डिएसपी हेम शाहीलाई डिप्रेशन भएको बताएका छन् । शाह निर्दोष साबित भएपछि नेपालगञ्जमा तरुणहरूमा खुशीयाली छाएको छ ।

डीएसपी शाहीले दशैंमा नेपाल तरुण दलका बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरीका लागि खसी मागेको अडियो सार्वजनिक भएसँगै झन् आशंका उत्पन्न भएको थियो ।

‘दशैं मान्ने भन्छन् प्रहरीहरूले के छ भाई ? हामीले त भाईहरूलाई नै भन्ने हो क्या रे !’, डीएसपी शाहीले अडियोमा भनेका छन्, ‘एउटा खसी पठाए आभारी नै हुने थियौं ।’

डीएसपी शाहीले भनेका छन्, ‘बडाभोज गर्ने चलन पनि छ, त्यसका लागि चाहियो भोज आज बेलुका नै रहेछ ।’

खसी नदिएको भन्दै डीएसपी शाहीले तरुण अध्यक्ष शाहसहितका ६ जनालाई पक्राउ गर्नुअघि कोषाध्यक्ष खड्कालाई आफूले चाहे तिघ्रा छेड्ने धम्की दिएको तरुण दलले आरोप लगाएको थियो ।

Published : Monday, 2021 August 16, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया