असफल भएपछि गलहत्याइएका ओलीको उट्पट्याङ हर्कतले हलचल ल्याइदियो

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले सर्वोच्च अदालतको फैसला बमोजिम दर्ता पूर्वको अवस्थामा पार्टी फर्किएको बताएका छन् ।

ओलीद्वारा जारी भएको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘पुनः पार्टी एकीकरण गर्ने हाम्रो प्रयास असफल भएपश्चात् हाम्रो पार्टी एमाले २०७५ जेठ २ गतेकै अवस्थामा पुनस्र्थापित भएको छ ।’

‘पार्टी अध्यक्षलगायत पार्टीका अन्य नेताहरूलाई अनधिकृत ढंगले सडकबाटै हटाएको घोषणा गर्ने, संसदीय दलको नेता प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्यबाट समेत बर्खास्त गरेको घोषणा गर्नेजस्ता बहुलठ्ठीपूर्ण कार्यहरू प्रचण्ड–माधव गुटहरूले त्यस अगावै गरिसकेका थिए’, ओलीले भनेका छन् ।

‘त्यसयता माधव गुटले खुलेआम गुटगत भेला, बैठकहरू गर्ने, पार्टी फुटाउने उद्देश्यले माथिदेखि तलैसम्म पार्टी र जनवर्गीय संगठनका कमिटीहरू समानान्तर रुपमा गठन गर्ने, विपक्षीहरूसँग मिलेर देशैभरि राष्ट्रपति, प्रधानमन्त्री एवं पार्टी अध्यक्षका पुत्ला दहन गर्ने, पार्टी र पार्टी नेतृत्वका विरुद्ध झुठा, अभद्रर अमर्यादित प्रचार अभियान चलाउनेजस्ता आपराधिक कार्यहरू गर्दैरहे ।’

‘त्यस्ता गतिविधिहरूलाई रोक्न पार्टीका तर्फबाट अनकौं प्रयासहरू लगातार गरिए’, उनले भने, ‘फोनमा कुराकानी, भेटघाट र छलफलका सिलसिला चलाइए ।’

‘यसै प्रसङ्गमा कार्यदल बनाइयो र त्यसले समस्या समाधानको लागि सर्वसम्मत सिफारिस पनि गर्‍यो’, उनले भनेका छन्, ‘पार्टीले त्यसलाई ग्रहण पनि ग¥यो । तर माधव नेपाल र उनको गिरोहले देश, जनता र पार्टीको भलाईको असल मनसायका साथ गरिएका सम्पूर्ण प्रयासहरूलाई तिरस्कार र अपमान गर्दैअश्वीकार गर्‍यो ।’

ओलीले भनेका छन्, ‘यसरी समस्या समाधानका हाम्रा प्रयासहरू असफल भए ।’

‘हाम्रो पार्टी यस्ता दुष्प्रयासहरूबाट हरेश खाने छैन र पार्टी र आन्दोलनबिरुद्धका जस्तासुकै षडयन्त्र, आक्रमण र दुष्प्रयासहरूलाई पराजित गर्दै विजय यात्रामा दृढता र तीब्र गतिका साथ अघि बढ्नेछ’, ओलीले भनेका छन् ।

ओलीले वरिष्ठ नेता माधव नेपाललाई पार्टीभित्र अस्थिरता र अराजकता निम्ताउनुका साथै पार्टी विभाजनको मुख्यकारक भनेका छन् । ओलीले सबै दोषभरि नेपाललाई दिएका छन् ।

झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि ओलीले पार्टी मिलाउन सकेनन् । सरकार साढे तीन वर्षभित्र ढल्यो । संविधान र कानून विपरीतका हर्कत गरे । अहिले आएर ओलीले सबै दोषभरि नेता नेपाललाई दिएर आफू निष्कलंक बनेका छन् ।

Published : Monday, 2021 August 16, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया