अर्थमन्त्री शर्माका ज्वाइँलाई १८ लाख तलबवाला सल्लाहकारको पद गिफ्ट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नै भाञ्जी ज्वाइँलाई भीमकान्त न्यौपानेलाई १८ लाख तलब भत्ता पाउने गरि एसियाली विकास बैंक (एडीबी)को सल्लाहकारमा नियक्तिका लागि सिफारिस गरेका छन् ।

न्यौपाने अर्थ मन्त्रालयका शाखा अधिकृत हुन् । न्यौपाने सो पदमा दुई वर्ष काम गर्नेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले सो पदमा उप–सचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय भएको थियो ।

अर्थमन्त्री शर्माले अर्याललाई पठाउने ओली सरकारको निर्णय रद्द गरेर भाञ्जी ज्वाइँ पर्ने शाखा अधिकृत न्यौपानेलाई पठाउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

एडीबीको सल्लाहकारमा यसअघि सोमलाल सुवेदी, रामशरण पुडासैनीलगायतले जागिर खाइसकेका छन् ।

पहुँचको भरमा शाखा अधिकृत न्यौपानेले धेरै लाभ लिने कर्मचारीमा पर्छन् । भन्सारमा बसी केही महिना अगाडि मात्रै न्यौपाने अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

शाखा अधिकृत न्यौपाने अर्थ मन्त्रालयका तत्कालीन सचिव शिशिरकुमार ढुंगानाका पीएका रुपमा कार्यरत थिए ।

सचिव ढुंगानाले अर्थमन्त्री शर्मालाई खुशी पार्न उनका भाञ्जीज्वाईलाई मनिला पठाउने वातावरण बनाएको आरोप छ । न्यौपानेलाई नियुक्ति गर्ने सबै प्रक्रिया ढुंगानाले नै पूरा गरेको चर्चा अर्थ मन्त्रालयमा छ ।

Published : Monday, 2021 August 16, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया