सुध्रिएनन् यी पैसावाल ‘दले’हरू, स्वास्थ्य राज्यमन्त्रीले अब कारबाही गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरूलाई निःशुल्क क्युआर कोड दिएको भन्दै केही मेनपावर व्यवसायीहरूले शुल्क लिएको सूचना आएको भन्दै कुनै पनि शुल्क नलिन चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार ट्वीट गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड–१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरण प्राप्त गर्न कुनै पनि शुल्क नलाग्ने जनाएका छन् ।

‘वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड–१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरण प्राप्त गर्न सम्बन्धित म्यानपावरले निःशुल्क आवेदन फर्मभरि सेवाग्राहीलाई सहजीकरण गर्न निर्देशन गरिएकोमा केही संस्थाले शुल्क उठाएको गुनासो आएको छ’, राज्यमन्त्री श्रेष्ठले भनेका छन् ।

‘यसरी अनुचित ढङ्गले शुल्क लिनेमाथि अनुगमन गरी कारबाही गरिनेछ’, उनले चेतावनी शैलीमा भनेका छन् ।

‘सेवाग्राहीले पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि म्यानपावरबाट फर्म भराउँदा कुनै अतिरिक्त शुल्क नतिर्नु होला’, राज्यमन्त्री श्रेष्ठले अपील गर्दै भनेका छन्, ‘यो सेवा पूर्णतः निःशुल्क हो ।’

उनले भने, ‘शुल्क मागगरि झञ्झट सिर्जना गरेमा पैसा नलाग्ने टोल फ्रि नं. १६६००१०९९९९ र १६६००१५०००५ मा गुनासा तथा जानकारी टिपाउनु होला ।’

केही म्यानपावरहरूले विदेश काममा जान चाहने कामदारहरूसँग कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन पैसा लाग्नेभन्दै असुली धन्दा चलाउन थालेपछि ती ‘दले’हरूलाई कारबाही गर्ने राज्यमन्त्री श्रेष्ठले चेतावनी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले पनि कोरोनाविरुद्धको खोप पूण लगाएको विद्युतीय प्रमाणपत्र लिन कुनै शुल्क नलाग्ने र शुल्क लिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

Published : Sunday, 2021 August 15, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया