कांग्रेसको भ्रातृ संस्थाको म्याद थप, विवाद सल्टाउन समिति गठन, जनसम्पर्क समितिको कुरा मिल्यो

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका उप–सभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिद्वारा प्रस्तुत गरिएको प्रतिवेदन पारित गरेको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिकलण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकद्वारा प्रस्तुत प्रतिवेदनलाई पनि पारित गरेको छ ।

उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौं ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सह–महामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले भदौं १ गते सहमतिमा टुङ्गो लगाई भदौं २ गतेभित्र सभापतिलाई बुझाउने गरी निर्वाचन निर्देशिका बैठकबाट पारित गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने’, कांग्रेसले भनेको छ ।

‘अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरूको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः “गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्रभित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य” भनिएकोमा “गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि” भनी संशोधन गर्ने’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिने कांग्रेसले जनाएको छ ।

‘विदेशस्थित नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धी नेपाली कांग्रेसको विधानको धारा ४ (१२) मा गरिएको व्यवस्थामा, “नेपाली जनसम्पर्क समितिको सदस्यता” थप गर्ने’, कांग्रेसले भनेको छ, ‘ विदेशस्थित नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व सम्बन्धी नेपाली कांग्रेसको विधानको धारा १४ मा गरिएको व्यवस्थामा देहाय बमोजिम संशोधन गर्ने ।’

‘नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष निर्वाचित हुन पार्टी विधान एवं नियमावली बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘ नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष वाहेक अन्य पदाधिकारी र सदस्यहरू नेपाली कांग्रेसको क्रियाशील सदस्यता वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको व्यक्तिहरूध्येबाट निर्वाचित÷मनोनीत हुन सक्नेछन् ।’

कांग्रेसले भनेको छ, ‘ पार्टी विधान र नियमावली अनुसार नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ ।’

‘उपरोक्त अनुसारका विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

मुख्यसचिव पौडेलले भने, ‘नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५(३)(ख)(३) मा नेपाली जनसम्पर्क समिति मकाउ र साइप्रसबाट नयाँ क्रियाशील सदस्यता शुल्क वापत अमेरिकी डलर तीस र नवीकरण शुल्क वापत नियम ५ (३) (ङ) बमोजिम अमेरिकी डलर पन्ध्र बुझाउनु पर्ने व्यवस्था भएकोमा, नेपाली जनसम्पर्क समिति, मकाउ र साइप्रसले नयाँ सदस्यता शुल्क वापत अमेरिकी डलर पन्ध्र र नविकरण शुल्क वापत नयाँ सदस्यता शुल्कको आधा रकम दाखिला गर्नु पर्ने गरी नियमावलीको उक्त प्रावधानलाई संशोधन गर्ने ।’

‘नेपाली जनसम्पर्क समितिको सदस्यको सदस्यता शुल्क’ नेपाली कांग्रेसको क्रियाशील सदस्यता शुल्क सरह हुनेछ ।

‘पार्टीको विधान र नियमावली अनुसारको आवश्यक प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यताको नामावलीको सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी), कार्यसमितिको निर्णय प्रतिलिपी लगायत आवश्यक विवरण बुझाएका नेपाली जनसम्पर्क समिति भारत, दक्षिण कोरिया, पोल्याण्ड, नर्वे, मकाउको क्रियाशील सदस्यता स्वीकृत गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनसम्पर्क समिति हङकङको क्रियाशील सदस्यता यसअघि नै स्वीकृत गरी पठाइएकोमा त्यसलाई अनुमोदन गर्नेछ ।

‘म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

‘अन्य राजनीतिक दल समायोजन समितिका संयोजक एवं उप–सभापति विमलेन्द्र निधि र समितिका सदस्यहरू तथा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक र समितिका सदस्यहरूले सफलतापूर्वक कार्यसम्पन्न गर्नु भएकोमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा केन्द्रीय सदस्यहरू नारायण खड्का, मानबहादुर विश्वकर्मा, एनपी साउँद, भीष्मराज आङ्दम्वे, सुरेन्द्रराज पाण्डे, बीरबहादुर बलायर, अमृत अर्याल, विष्णुविक्रम थापा, टिएन योगी र आमन्त्रित केन्द्रीय सदस्यहरू कुमारखड्का र दिलिप राईले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

Published : Sunday, 2021 August 15, 12:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया