१९ वर्ष पुगेका युवालाई खोप दिन्छौँ, खोप दिने समूहमा परिवर्तन ल्याउँछौँः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १९ वर्ष पुगेका किशोर–किशोरीसहित फ्रन्टलाइनरहरूलाई अबको खोप दिने बताएका छन् ।

ललितपुरको कुपण्डोलमा शनिबार विशेष समितिको आयोजनामा विभिन्न ३० जिल्लाका कांग्रेस सभापतिहरूसँग भएको ‘गरिखाने कांग्रेस’ बन्ने बनाउने अभियानको बृहत कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले धेरै हिँडडुल गर्ने भनेको किशोर किशोरी रहेको भन्दै उनीहरूलाई खोप दिनुपर्ने बताए । घरबाहिर गएर काम गर्ने युवा समूहलाई जापानबाट आउने खोप दिइने उनले बताए ।

‘केपी ओलीको सरकारले ६ देखि ८ महिनामा ४० हजार खोप पनि बाँड्न सकेको थिएन’, उनले भने, ‘कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै खोप दिन शुरु भएको छ । खोप आउने सुनिश्चितता पनि भइसकेको छ ।’

‘केपी ओली सरकारले जम्मा ९७ लाख खोप ल्याएकोमा कांग्रेस नेतृत्वको सरकार आएपछि एक महिनामा झण्डै ६० लाख खोप लगाइदिएका छौँ । एक दिनमा २ देखि ३ लाखसम्म खोप लगाइदिएका छौँ’, उनले भने, ‘अब खोप फ्रन्टलाइनरहरूलाई दिने हो । यसलाई चेञ्ज गर्न सकिएन भने कोरोना कन्ट्रोल हुन सक्दैन । खाली उमेर समूहलाई मात्रै खोप दिएर हुँदैन ।’

‘खोप विद्यार्थीलाई दिने हो । विकसित शहरमा दिने हो । तराईका सिमाना जोडिएका बोर्डर लाइनमा दिने हो’, उनले भने, ‘दुई महिनाभित्र १ करोड ८ लाख डोज खोप आउँछ । यसको सुनिश्चितता भइसकेको छ ।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने, ‘राम्रो किसिमले योजना बनाएर खोप दिनेछौँ । जो फ्रन्टलाइनर छ, जसलाई खोपको आवश्यक्ता छ त्यसलाई दिने हो । जापानबाट आएको खोप १९ वर्ष पुगेको किशोर–किशोरीहरूलाई दिइहाल्ने हो ।’

‘१९ वर्ष पुगेका किशोर किशोरीलाई ५÷६ लाख खोप दिनुपर्छ । सबैभन्दा धेरै मुभमेन्ट गर्ने तिनै हुन्’, राज्यमन्त्री श्रेष्ठले भने, ‘अबको खोप तराई र बोडर क्षेत्रमा दिने हो । विराटनगर, धनगढी, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका ठूला शहरमा दिने हो ।’

उनले भने, ‘रिमोट एरिया खोजेर खोप दिने । २० हजार जनसंख्या भएको जिल्लामा पूरैलाई खोप दिएर सुरक्षित बनाउनुपर्छ । अनि मात्रै काम देखिन्छ ।’

‘हामी सबै मिलेर काम गर्नुपर्छ । परिवतर्न ल्याउन सकिएन भने भोट कांग्रेसलाई आउँदैन’, उनले भने, ‘अहिलेको चुनाव भनेको सजिलो छैन । हामीले सहयोग गर्ने हो । युवाले भोट हाल्छ । उनीहरूलाई कांग्रेसमा आकर्षित गर्नुपर्छ ।’

Published : Saturday, 2021 August 14, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया