विनोद चौधरीको नेतृत्वमा कांग्रेसले युवाहरूलाई यसरी दिलाउँदैछ विनाधितो ऋण, ८ वटा बैंक तयार

काठमाडौं । नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित विशेष समितिको ‘गरिखाने अभियान’का संयोजक विनोद चौधरीले बैंकमार्फत विनाधितो ऋण दिएर युवाहरूलाई व्यापार व्यवसायमा संलग्न बनाउने काम कांग्रेसले शुरु गरिसकेको बताएका छन् ।

ललितपुरको कुपण्डोलमा शनिबार विशेष समितिको आयोजनामा विभिन्न ३० जिल्लाका कांग्रेस सभापतिहरूसँग भएको ‘गरिखाने कांग्रेस’ बन्ने बनाउने अभियानको बृहत कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले युवाहरूलाई कांग्रेसमा जोडेर व्यापार व्यवसायमा ऋण दिलाएर धनी बनाउने बताए ।

‘विगतमा सरकारले युवाका लागि कार्यक्रम घोषणा गर्ने । त्यो कार्यक्रमको ब्याकिङ छैन । त्यो युवाले के काम गर्ने ?’, चौधरीले प्रश्न गर्दै भने, ‘युवासँग केही गरौँ भन्ने भावना छ । सपना छ । त्यो सपनालाई योजनाको रुपमा रुपान्तरित गर्ने । त्यो योजनालाई बैंकले पत्याउने किसिमको डकुमेन्टको रुपमा रुपान्तरण गर्ने । र, बैंकले विनाधितो ऋण दिने ।’

‘युवासँग धितो दिने जायजेथा भए त उसले गरेर खाइहाल्थ्यो नि । उसलाई ऋण नदिएसम्म धितो नै तयार हुँदैन’, कांग्रेस नेता चौधरीले भने, ‘यो विषयमा निजी बैंकहरूसँग धेरै ठूलो टकरार भयो । राष्ट्र बैंकले घोषणा गरेको छ तपाईहरूले पनि भन्नु हुन्छ तपाईहरू जस्तो मान्छे उभिनु भएको छ ।’

बैंकसँग भएका छलफलहरूका बारेमा समितिका संयोजक चौधरीले भने, ‘पार्टीको संगठन पनि उभिन्छ भन्नु हुन्छ । हामीलाई पनि अख्तियारले लिएर जान्छ हामीले के ठाउँमा टेक्ने ? बैंकलाई हामीले भन्यो पार्टी र संगठन जसका आधारमा उभिन्छ त्यसका आधारमा तपाईहरूले विना धितो ऋण दिएपछि विनाधितो सिजर्ना हुने धितोका आधारमा तपाईहरूले ऋण दिनुपर्छ भन्यौँ ।’

उनले भने, ‘मौद्रिक नीतिमा हामीले उठाएका कुरा राख्न लगाएका छौँ ।’

‘यसलाई अगाडि बढाउनको लागि जिल्ला सभापति र संगठनको सहयोग विना हामी सफल हुन सक्दैनौँ’, चौधरीले भने, ‘दश वटा शाखाले फण्डिङ गर्नै पर्ने राष्ट्रबैंकको नीति छ । धेरै ठूला कुरा पछि गरौँला । हाइड्रो सिमेन्टको कुरा पछि गरौँला । अहिले गरेका छौँ । साना कुरामा ध्यान दिनुपर्छ । त्यसपछि वातावरण बन्छ । प्रत्येक जिल्लामा यसको कार्यालय हुन्छ । तपाईहरूले नै एउटा मान्छे तयार पार्नुपर्छ । हामीसँग ब्याकिङ तयार पार्छौं ।’

उनले भने, ‘८ वटा बैंक हामीसँग काम गर्न तयार छन् । पछि गएर यो कुरालाई अरुले पनि टिप्छन् । हामी कति फस्ट जान्छौँ । हामीलाई सिष्टम बनाउन १४ महिना लागेको छ । २ सय जति प्रोजेक्ट कार्यान्वयनमा जान लागेको छ । फण्डिङ गर्न बैंकले थालिसकेका छन् । जिल्लामा यसबारेमा जागरण आएन । राष्ट्रियस्तरमा काम गर्नुपर्छ ।’

‘सहि मान्छे, सहि योजनाको छनौट । भोलिका दिनमा त्यो योजनाको छनौट एउटा सहि योजनाले गर्दा अर्को दश वटा योजना उदाहरणहरू बन्न सकुन । छनौटमा सर्तक हुनुपर्छ । नैतिक ज्ञारेन्टी गर्नुपर्छ’, चौधरीले भनेका छन् ।

‘कार्यकर्तालाई गरिखाने बनायौँ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ’, सांसद चौधरीले भनेका छन् ।

‘बिगतमा सरकारका योजना धेरै आए । बाबुराम भट्टराईले राज्यको पैसा बाँडेर स्वरोजगार कार्यक्रम ल्याए । अघिल्लो सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्यायो । पैसा बाँडे’, उनले भने, ‘कांग्रेसले यो समिति बनायो । राष्ट्रको आर्थिक रुपान्तरण बोकेको समिति बनायो । गरिखाने मानिसहरू जोडिएका छौँ । अरुलाई पनि जोडाउनुपर्छ ।’

‘५० हजारभन्दा बढीलाई रोजगारी दिन राज्यले पनि सकेको छैन । ५ लाख युवामा हातहातमा मोबाइलमा छ । विश्वलाई देखेको छ’, उनले भनेका छन् ।

‘रोजगारी नभएपछि युवाहरू कि भारत गएको छ । कि खाडी मुलुकमा गएको छ । विदेशमा रोजगारीमा गएका युवाहरूका कारण नेपालको राजनीतिमा प्रश्न उठेको छ’, उनले भने ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले एक महिनाभित्र गरेका कामको प्रशंसा गरेका चौधरीले भने, ‘अघिल्लो सरकारले ४० लाख नेपालीलाई खोप उपलब्ध गरायो । कांग्रेस नेतृत्वको सरकारले एक महिनामा ६० लाखलाई खोप दिइएको छ ।’

उनले भने, ‘स्वास्थ्यमा काम गरेका छौँ । सरकारले तोके भन्दा अगाडि नै सबै नेपालीले खोप लगाउन पाउनेछन् । सरकारले गरेका कामको प्रचार अरुले होइन हामी आफैले गर्नुपर्छ । सरकारलाई सफल बनाउनुपर्छ ।’

कार्यक्रममा जिल्ला सभापतिहरूले जिल्लामा सम्पर्क कार्यालय खोलेर व्यापार व्यवसाय गर्न चाहने युवाहरूका लागि फारम भर्न लगाएर ऋणका लागि बैंकसँग पहल गरिदिनुपर्ने धारणा राखेका थिए ।

Published : Saturday, 2021 August 14, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया