स्वास्थ्य राज्यमन्त्रीको यो कामले देउवा र कांग्रेसका कार्यकर्ता खुसी, ओली समूहलाई तनाब

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको एमालेले विभिन्न अवरोधहरू सिर्जना गर्नुका साथै प्रतिनिधि सभामा आक्रामक रुपमा प्रस्तुत भएर सरकारको आलोचना गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप भण्डारण केन्द्रहरूको निरीक्षण गरेका छन् ।

राज्यमन्त्री श्रेष्ठले शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र टेकुस्थित खोप भण्डारण केन्द्रको अवलोकन गरेको निजी सचिवालयले जनाएको छ । निरीक्षणका लागि स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल र प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंह पनि गएका थिए ।

‘आज म लगायत स्वास्थ्यसचिव रोशन पोखरेल, प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहको टोलीले टेकु र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गरेका छौं’, राज्यमन्त्री श्रेष्ठले ट्वीट गर्दै भनेका छन् ।

‘खोप भण्डारणको अवस्था, भण्डारण क्षमता विस्तार तथा आपूर्तिको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक कार्य तदारुकताका साथ अघि बढाइनेछ’, उनले भनेका छन् ।

‘कोभिड–१९ खोप प्राप्तिको नेपाल र विश्वव्यापी तुलना । अहिलेसम्म ७५ लाखभन्दा धेरै जनसंख्यामा खोपको पहुँच पुगिसकेको छ’, उनले भने, ‘खोप अभियानलाई तीव्रता दिन अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आपूर्ति व्यवस्थापक लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

राज्यमन्त्री श्रेष्ठले भनेका छन्, ‘आज मैले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवज्यू र वैदेशिक रोजगार विभागका महानिर्देशकज्यूलाई वैदेशिक रोजगारीमा जानेहरूको लागि कोभिड–१९ पूर्ण खोपको विधुतीय प्रमाणीकरणका लागि आवेदन फारम सम्बन्धित सङ्गठित संस्था (म्यानपावर)बाटै भर्ने व्यवस्था गर्न निर्देशन दिएको छु ।’

उनले भने, ‘यससँगै वैदेशिक रोजगारीमा जाने महानुभावहरूले सम्बन्धित म्यानपावरबाटै समयमै फर्म भराई कोभिड–१९ पूर्ण खोपको विधुतीय प्रमाण प्राप्त गर्नुहुने अपेक्षा गरेको छु ।’

‘वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने संस्थाहरूले सेवाग्राहीलाई चुस्त सेवा प्रवाह गर्ने सुनिश्चितता दिलाउनुभएको छ’, स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भनेका छन् ।

राज्यमन्त्रीमा श्रेष्ठ नियुक्ति भएसँग आफै खटिएर कोरोनाविरुद्धको खोप ल्याउनेदेखि जनतालाई लगाइदिने तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशानुसार काम गर्दै आएका छन् । सरकारी सुविधाहरू पनि राज्यमन्त्री श्रेष्ठले त्याग गरेर काम गरिरहेका छन् ।

Published : Friday, 2021 August 13, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया