सर्वोच्चको आदेश विपरीत चिरिबाबुको ‘आतंक’, ललितपुरका कांग्रेसीहरू लाजले भुतुक्क

पुल्चोक । सर्वोच्च अदालतको आदेश विपरित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाको कार्यालय अगाडिको मूल सडकको चोकमा समय फल्चा (पाटी) पुनर्निर्माण गर्न लागेका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको २०७८ साल साउन १७ गते आइतबारको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरि समय फल्चा पुनर्निर्माणको काम अगाडि बढाउन निर्देशन दिएका छन् । महर्जनले आफू निकटका व्यक्तिहरूलाई त्यसको जिम्मेवारी समेत दिएका छन् ।

केही दिन अगाडि टोलमा बैठक राखेर सर्वोच्च अदालतको आदेश विपरीत समय फल्चा पुनर्निर्माणको काम गर्ने निर्णय गराएका छन् ।

महर्जनले भदौको पहिलो साता सडक साँघुरो र दुर्घटना हुने गरि समय फल्चा पुनर्निर्माणको नाममा जनताको जीवनमाथि खेलवाड गर्न तयारी गरेका छन् । महर्जनको लापरबाहीले जनताको ज्यान जानेदेखि सडक दुर्घटनाका घटना हुने सम्भावना निकै छ । दर्घटना भयो भने त्यसको जिम्मेवारी मेयर महर्जनले लिनुपर्ने हुन्छ ।

‘कित्ता नं. ३२७ को जग्गा कुपण्डोल जावलाखेल मूल सडकभित्र नपर्ने भएको, सो जग्गामा पाटी पुनर्निर्माण गर्दा सडक पेटी (पैदल मार्ग)मा असर पर्ने अवस्था नरहेको भनी प्रत्यर्थी तर्फबाट जिकिर प्रस्तुत हुन आएको देखियो’, सर्वोच्चको आदेशमा भनिएको छ ।

‘तसर्थ मूल सडक र पैदल मार्ग यथावत कायम रहने गरि अर्थात सडक मापदण्ड विपपरीत नहुने गरि सत्तल (पाटी) निर्माण गर्न लागेको विषयमा सो कार्य हुन दिनबाट रोक्ने गरि अन्तरिम आदेश जारी गर्न मिलेन । नियमानुसार गर्नु’, सर्वोच्चको आदशमा उल्लेख छ । कानून विपरीतका कार्य नगर्न भनेपछि मान्नुपर्नेमा महर्जन झन् उत्साहित भएर विभिन्न हर्कतमा उत्रिएपछि ललितपुरमा कांग्रेसीहरू लाजले भुतुक्क भएका छन् ।

सर्वोच्च अदालतले सडक विभागको मापदण्ड विपरीत नहुने गरि काम गर्न भनेको छ । तर, मेयर महर्जनले सर्वोच्चको आदेशलाई अपब्याख्या गरेका छन् ।

मेयर महर्जनले समय फल्चा (पाटी) पुनर्निर्माण गर्न लागेको स्थान मूल सडकभित्र पर्छ । मूल सडकलाई असर पर्ने गरेर कुनै पनि संरचना बनाउन पाइँदैन । महर्जनले समय फल्चा पुनर्निर्माण गरे भने पैदल हिँड्ने यात्रु र सवारी साधनलाई समेत असर पर्नेछ ।

मेयर महर्जनलाई कानून विपरीतका कार्य नगर्न नेपाली कांग्रेसका नेताहरूले सुझाव दिएका छन् । तर, महर्जनले कसैको पनि कुरा र सुझावको सुनुवाइ गरेका छैनन् । व्यक्तिगत हठ र इगोलाई लिएर महर्जनले समय फल्चा पुनर्निर्माणमा लागका हुन् ।

समय फल्चा सडक विभागको मापदण्ड विपरित भयो भने त्यसबाट हुने दुर्घटनाको जिम्मेवारी मेयर महर्जन हुनुपर्नेछ ।

नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यको उक्साहटमा हर्कत गर्दै आएका मेयर महर्जनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत यसअघि चिढ्याइसकेका छन् ।

कांग्रेसले टिकट दिएपछि ललितपुर महानगरपालिकाका मतदाताको भोटले निर्वाचित भएका महर्जनका हर्कतले ललितपुरमा कांग्रेस कमजोर हुन थालेको छ । महर्जनले कसैको पनि फोन उठाउँदैनन् ।

समाचारका विषयमा प्रतिक्रिया लिन मेयर महर्जन र ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनसँग शुक्रबार साँझ फोनमा सम्पर्क गर्दा दुबै जनाले फोन उठाएनन् ।

ललितपुर महानगरपालिकाका प्रमुख प्राशसकीय अधिकृत गणेश अर्यालले पनि मेयर महर्जनलाई कानून विपरीतका कार्य नगर्न सुझाव दिनुपर्नेमा उल्टै उकास्ने गरेको आरोप छ । अर्यालले कांग्रेस सिध्याउने हर्कत गरेको भन्दै ललितपुर महानगरपालिकाबाट हटाउन माग उठ्न थालेको छ ।

यसअघि, जिल्ला प्रशासन कार्यालय ललितपुरको चलानी नम्बर ६९५० नम्बरको पत्रमार्फत ललितपुर महानगरपालिकालाई वडा नं. ३ को कित्ता नम्बर ३२७ को क्षेत्रफल ०–१–०–१ को जग्गामा अतिक्रमण गरि निर्माण गर्न लागेको भन्दै सो कार्य नगर्न आदेश दिएको छ ।

‘ललितपुर महानगरापलिका वडा नं. ३ कि.नं. ३२७ क्षेत्रफल ०–१–०–१ को जग्गा अतिक्रमण गरि निर्माण गर्न लागेको समय फाल्चाको बारेमा गृह मन्त्रालय सिंहदबार काठमाडौंको च.नं. ४२१ मिति २०७८–०३–१३ गतेको पत्र प्राप्त भई ब्यहोरा अवगत भयो’, जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख छ ।

‘सो सम्बन्धमा सडक डिभिजन ललितपुरको च.नं. २२० मिति २०७७–०९–२४ गतेको पत्रबाट सडक सीमाभित्रको निर्माण कार्य रोक्नेबारे पत्र प्राप्त गरि व्यहोरा अवगत गर्नुभएकै छ’, पत्रमा उल्लेख छ ।

‘नापी कार्यालय ललितपुरको स्थलगत अध्ययन गरि च.नं. ३१६२ मिति २०७८–०३–२४ गतेको पत्रबाट प्राप्त फिल्ड प्रतिवेदनको छायाँप्रति यसैसाथ संलग्न राखी सो आधारमा निर्माण कार्य रोक्का राख्न हुन आदेशानुसार अनुरोध छ’, जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख छ ।

नापी कार्यालय ललितपुरले पनि सो जग्गा सडकको मापदण्डमा पर्ने उल्लेख गरेको छ ।

सडक डिभिजन ललितपुरले पनि सडक सीमाभित्रको निर्माण कार्य रोक्न ललितपुर महानगरपालिकालाई निर्देशन दिएको छ । ‘पार्टी समय फाल्चा सडकको केन्द्र विन्दुबाट ११/११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले एवम् तपसिलको आधारले समेत निर्माण गर्न नमिल्ने भएकोले निर्माण कार्य नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ’, सडक डिभिजन ललितपुरले पत्रमा भनेको छ’, ‘अन्यथा सार्वजनिक सडक ऐन, २०३१ अनुसार भईजाने व्यहोरा समेत जानकारी गराइन्छ ।’

तत्कालीन समयमा स्वयं ललितपुर उप–महानगरपालिकाले २०६८ साल मंसिर २५ गतेको महानगरपालिका बोर्ड बैठकबाट निर्णय गरेर सडक सीमाभित्र रहेको भन्दै पाटी पुनः निर्माण समितिको माग अनुसार आर्थिक सहयोग समेन नदिन नमिल्ने निर्णय गरेको थियो ।

Published : Friday, 2021 August 13, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया