कांग्रेसमा सामूहिक राजीनामाको धम्कीपछि बुढानिलकण्ठमा बबण्डर, देउवाले स्थिति सम्हाले

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्यहरूले सामूहिक राजीनामा दिने धम्की दिएका छन् ।

बुढानिलकण्ठमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय आमन्त्रित सदस्यहरूले १४औँ महाधिवेशनमा स्वतः प्रतिनिधि हुनुपर्ने माग राखेर राजीनामाको धम्की दिएका हुन् ।

केन्द्रीय आमन्त्रित सदस्यहरूले महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘हुँदैन’ भनेर अस्वीकार गरिदिएका थिए । त्यसको जवाफमा केन्द्रीय आमन्त्रित सदस्यहरूले ‘स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने हो भने सामूहिक राजीनामा दिन्छौँ’ भनेर बैठकमा धारणा राखेपछि बबण्डर भएको थियो ।

सभापति शेरबहादुर देउवाले स्थितिलाई शान्त बनाउँदै सो विषयमा उचित समयमा उचित निर्णय लिनेभन्दै सामूहिक राजीनामा दिने अवस्था नआउने भनेर थामथुम पारेको स्रोतले जनाएको छ ।

केन्द्रीय आमन्त्रित सदस्यहरू हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले धारणा राखेका थिए ।

उनीहरूले नै महाधिवेशन प्रतिनिधि हुन नपाए सामूहिक राजीनामाको धम्की दिएका हुन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि स्वतः हुने व्यवस्था छ ।

बैठकमा केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुरसिंह लामा तामाङ, जंगीलाल राय, रामजनम चौधरी, हेमराज तातेडले आ–आफ्नो धारणा राखेका थिए ।

धारणा राख्ने अधिकांश नेताहरूले १४औँ महाधिवेशन र सरकारको विषयमा सुझावहरू राखेको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए । केन्द्रीय कार्यसमितिको शनिबार दिउँसो २ बजे पुनः बस्ने गिरीले बताए ।

Published : Friday, 2021 August 13, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया