आलोचना खेपेका स्वास्थ्य राज्यमन्त्रीको कामले कांग्रेसको ‘नाक’ राख्यो, ओली समूहलाई तनाब

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म १ करोड ८ लाख ६० हजार डोज खोप आउने सुनिश्चित भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर कोरोनाविरुद्धको खोपका विषयमा जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले विद्यार्थीलाई पनि खोप दिएर विद्यालय खोल्ने गृहकार्य भइरहेको बताए ।

उनले पूर्ववर्ती सरकारले ९७ लाख खोपको व्यवस्थापन गरेको बताए । नयाँ सरकार आएपछि बुधबारसम्म ७५ लाख खोप नागरिकलाई लगाइएको जानकारी राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

उनले १८ देखि ३० वर्षका विद्यार्थीलाई केही दिनमै खोप उपलब्ध गराउने तयारी सरकारले गरेको बताएका छन् ।

स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा आमुल परिवर्तनसहित सुधार गर्नुपर्ने आवश्यकता रहेको राज्यमन्त्री श्रेष्ठले बताए । उनले गरिब जनताको स्वास्थ्यमा पहुँच बढाउन पर्याप्त दरबन्दी विस्तारको खाँचो रहेको उनले बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले उमेर समूह र आर्थिक गतिविधि बढी हुने ठाउँमा खोपको उचित व्यवस्थापन गरिने बताए ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आउँदो दिनमा निजी क्षेत्रको साझेदारीबाट अघि बढ्ने कार्यक्रम सरकारले ल्याउने जानकारी दिएका छन् ।

श्रेष्ठले विगत १९ महिनादेखि देश कोभिडले आक्रान्त भएकाले त्यो प्रतिकुलतालाई अन्त्य गरी जनजीवन सामान्य बनाउन सरकार लागिपरेको बताए ।

गत एक हप्ताको आँकडा हेर्दा संक्रमण दर बढेकाले थप सतर्कताको खाँचो रहेको उनले बताएका छन् । अहिले २५ प्रतिशतको दरले संक्रमण दर बढिरहेको पनि राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।

कोभिड १९ बाट ७ लाख बढी संक्रमित भइसकेको जानकारी दिँदै श्रेष्ठले १० हजार १८० जनाले ज्यान गुमाइसकेको पनि राज्यमन्त्री श्रेष्ठले संसदलाई जानकारी गराए ।

आगामी दिनमा प्राथमिकताअनुसार खोप उपलब्ध गराउने तयारी सरकारले गरेको पनि उनले बताए । राज्यमन्त्री श्रेष्ठले विद्यार्थीलाई पनि खोप लगाउने तयारी सरकारले गरेको बताएका छन् ।

देशभरि ९६ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण अहिले भइरहेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बताए । उनले हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परीक्षण भइसकेको उल्लेख गरेका छन् ।

अहिलेसम्म १ करोड ८ लाख ६० हजार १७० खोप प्राप्त भइसकेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन् । उनले माघ मसान्तसम्म ३ करोड २३ लाख थप खोप प्राप्त हुने बताए ।

पहिलो मात्राको खोप लगाउने जनसंख्या ४५ लाख ७० हजार ५५३ जना, दुवै मात्रा खोप लगाउने जनसंख्या २८ लाख ८८ हजार ३६० रहेको श्रेष्ठले जानकारी दिएका छन् । उनले अहिले मौज्दात १ लाख ७३ हजार खोप केन्द्रमा मौज्दात रहेको बताए ।

राज्यमन्त्री श्रेष्ठले नेपालमा खोप उत्पादनका लागि तयारी भइरहेको जानकारी दिएका छन् । श्रेष्ठले आजसम्म २ हजारलाई क्वीआर कोडको प्रमाणपत्र उपलब्ध गराइएको बताए ।

कोभिड नियन्त्रण र उपचारका लागि सरकारले सम्पूर्ण ध्यान लगाएको उनले बताएका छन् ।

कोभिड–१९ को तेस्रो लहर आउने खतरा कायमै रहेको भन्दै उनले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताएका छन् ।

महामारी नियन्त्रणका लागि सबैजना सचेत हुनुपर्ने बताउँदै राज्यमन्त्री श्रेष्ठले सरकारको प्रयासले मात्र कोभिड–१९ नियन्त्रणमा आउन नसक्ने बताए ।

कांग्रेस नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप जनतालाई लगाइदिन पहिलो प्राथमिकता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठलाई नियुक्त गरेपछि विरोध भएका थिए ।

तर, राज्यमन्त्री श्रेष्ठले बाहिर आलोचना भएभन्दा राम्रो काम गरेपछि विरोधीहरूको मुखमा ताला लागेको छ । राज्यमन्त्री श्रेष्ठको कामले कांग्रेसको इज्जत बढाएको छ ।

राज्यमन्त्री श्रेष्ठको कामले खड्गप्रसाद ओली नेतृत्वको एमालेका सांसदहरूलाई सबैभन्दा धेरै तनाब भएको छ । संसदमा ओली निकटका सांसदका पूर्वाग्रही प्रश्नले त्यसको झल्को दिएको थियो ।

Published : Friday, 2021 August 13, 10:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया