ठमेलमा रात्रिकालीन रमाइलो गर्ने, पद नपाएको झोँक कांग्रेसमा निकाल्नेको थापाद्वारा भण्डाफोर

सुकुटे । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफूले कुनै पद नपाएको झोँकमा पार्टी विधानअनुसार चलेन भनेर आएका केही नेताहरूको अभिव्यक्तिको कडा रुपमा प्रतिवाद गरेका छन् ।

नेपाल तरुण दल भक्तपुरले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा बिहीबार आयोजना गरेको अनौपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीका सबै नेता कार्यकर्ता अनुशासन र मर्यादामा बस्नु पर्ने बताए । उनले आबेगमा आएर अभिव्यक्ति दिने कार्यले कसैको पनि हित नहुने चेतावनी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति संकेत गर्दै भक्तपुर कांग्रेसका सभापति थापाले भने, ‘आफूले कुनै पद नपाएको झोँकमा पार्टी विधान अनुसार चलेन, पार्टीले बैधानिकता पाएन, सरकार संविधान अनुसार चलेन भन्दै गर्दा म नेताहरूलाई खबरदारी गर्न चाहन्छु ।’

‘पार्टी सभापति नविधान सम्मत चल्नु भयो, नत्यसको भावनासम्मत चल्नुभयो भन्ने खालका केही अभिव्यक्तिहरू आइरहेका छन्’, नेता पौडेल समूहको गुटका बैठक र नेताहरूका अभिव्यक्तिको आलोचना गर्दै थापाले भने, ‘पार्टी सभापतिहरूको भेला सम्पन्न भयो ठमेलमा भन्ने मैले सुने । कुन प्रयोजनको लागि भेला हो ? सभापतिहरू भेला हुने । अलिकति मोजमस्ती गर्ने । ठमेल जस्तो ठाउँमा रमाइलो गर्ने ।’

उनले भने, ‘विशेष गरेर रात्रिकालीन समयका लागि प्रख्यात रहेको ठमेल र केही सभापतिहरू विधानसम्मत तरिकाले रात्रिकालीन भेला भएर पार्टीलाई उर्जाशील बनाउनुभयो’, थापाले ब्याङ्ग्य गर्दै भने, ‘त्यो भेला भएका साथीहरूलाई पनि शुभकामना दिन्छु । र त्यो भेलामा गएर रात्रिकालीन सम्बोधन गर्ने नेताहरूलाई पनि हार्दिक बधाइ र शुभकामना दिन्छु ।’

तीन दिन अगाडि ठमेलमा पौडेल समूहका एक दर्जन बढी जिल्ला सभापतिहरूको भेला भएको थियो । त्योभन्दा अगाडि पौडेल समूहका केन्द्रीय सदस्यहरूको भेला भएको थियो । ती भेलामा देउवा पार्टीको विधान र संविधान विपरित हिँडेको भनेर पौडेल समूहले आलोचना गरेका थिए ।

‘तपाईहरू विधानअनुसार चलिरहनुभएको छ ?’, पौडेल समूहका जिल्ला सभापतिहरूलाई प्रश्न गर्दै थापाले भने, ‘तपाईहरू यही विधानअनुसार चल्नुस् ।’

फेसबुकमा नेता पौडेलले लेखेको स्टाटसको प्रशंग उठाउँदै सभापति थापाले भने, ‘मैले एउटा फेसबुकको स्टाटसमा हेरेँ, भदौ २३ गतेपछि पार्टीका सबै तहहरू अबैधानिक रहनेछन् । र, विधानअनुसार यी सबै संगठनहरूले बैधानिकता पाउने छैनन् ।’

‘तर एउटा समूह र एउटा नेताले मात्रै बैधानिकता पाउनेछ । त्यो समूह र त्यो नेताको नाम तपाईहरू सबैले थाहा पाइसक्नुभएको छ’, रामचन्द्र पौडेलतिर संकेत गर्दै थापाले भने, ‘त्यस कारणले विधान र पद्धति पार्टी सभापतिहरू चल्नु पर्दैन ? हामीले विधानलाई कुन ढंगले चलाउने ? कुन ढंगले पार्टीलाई संगठित बनाउने ? विधानको कुन कुन धारा अनुसार चल्ने ?’

सभापति थापाले भने, ‘पार्टीलाई संगठित बनाउनुपर्छ । पार्टी अनुशासित ढंगले चल्नुपर्छ । त्यसमा पनि युवा र विद्यार्थी अनुशासित ढंगले चल्नुपर्छ ।’

‘बैधानिकता त्यसले पाउन सक्छ जसले संगठन गर्न सक्छ । जसले पार्टीलाई एकताबद्ध गर्न सक्छ जसले पार्टीलाई मूल्य मान्यतालाई आदर्शलाई संगठित र एकताबद्ध बनाउन सक्छ त्यही पार्टी बैधानिक रुपले अगाडि बढ्छ’, सभापति थापाले भनेका छन् ।

‘हामी जिल्ला सभापतिहरूले भनेका छौँ । पार्टीको अधिवेशन हुन सक्छ । हुन्छ पनि । मलाई थाहा छ धेरै नेताहरूले धेरै सभापतिहरूले पार्टीलाई बैधानिक संकट आयो भन्दै गर्दा म ती साथीहरूलाई प्रश्न सोध्न चाहन्छु हिजो प्रतिबन्धित अवस्थामा ३० वर्ष नेपाली कांग्रेसको अधिवेशन नभएको पनि मलाई थाहा छ’, सभापति थापाले भनेका छन् । थापा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

‘हिजो संविधान बनाउँदै गर्दा पार्टीको अधिवेशन नभएर नेपाल अधिराज्यको संविधानमा छ महिना थपेर अधिवेशन भएको र अधिवेश गराउने नेताहरू पनि अहिले पार्टी विधानअनुसार चलेन भन्दै गर्दा म यसलाई प्रोत्साहित गर्छु र मैले पार्टी सभापतिलाई उत्साहित बनाउँछु भन्ने खोजेको होइन’, उनले भने, ‘हिजो पार्टी त्यही ढंगले चलिरहेको थियो ।’

‘अहिले पनि केन्द्रीय सभापतिसँग धेरै बिकल्पहरू छ । हिजो पार्टी सुशील कोइरालाले संविधानमा थप्दै गर्दा अब शेरबहादुर देउवाले पनि दुई वर्ष पार्टीको विधानमै सात वर्षपछि अधिवेशन गर्न सकिन्छ भनेर लेख्न पनि सकिन्छ’, उनले भने, ‘के यसले पार्टी अनुशासित ढंगले चल्छ ? पार्टी संगठित हुन सक्छ ? म नेताहरूलाई प्रश्न गर्न चाहन्छु । कोरोना महामारीका बीच पार्टीले संगठित हुन पाएको छैन ।’

उनले भने, ‘म आफै पनि भक्तपुरको सभापति छु । मेरो जिल्ला कार्यसमितिको बैठक लगभग डेढ महिना भयो बस्न नसकेको परिस्थिति छ । पहिलो चरणको कोरोना हुँदै गर्दा हामीले पार्टीको बैठक ६÷७ महिना गर्न सकेनौँ । अहिले पार्टीका गतिविधिहरू गर्न सकिरहेका छैनौँ । तथापि भक्तपुर कांग्रेसले निर्विवाद ढंगले क्रियाशील सदस्यता हामीले अगाडि बढाएका छौँ ।’

‘पार्टीको क्रियाशील सदस्यतामा धाँधली भयो भनेर अहिले भरखर कुरा आएको छ । पार्टी समायोजनको बेलामा जुन ढंगले क्रियाशील सदस्यता बाँडियो हामी मान्न तयार छैनौँ भन्छन्’, उनले भने, ‘को व्यक्तिले मान्छ वा मान्दैन मलाई थाहा छैन । शेखर कोइरालाले नमान्दैमा यो पार्टीको अधिवेशन नहुने, शशांक कोइरालाले नमान्दैमा पार्टीको अधिवेशन नहुने, शेरबहादुर देउवाले नमान्दैमा पार्टीको अधिवेशन नहुने भन्ने कुरा हुँदैन ।’

‘शेरबहादुर देउवा पनि पार्टी पद्धतिअनुसार चल्नुपर्ने हुन्छ । पार्टीको केन्द्रीय कार्यसमितिले गरेको निर्णय कसैको स्वार्थको लागि अधिवेशन हुन सक्दैन म मान्दैन भन्दै गर्दा पार्टीलाई भाँजो हाल्ने र पार्टीको गतिविधिलाई ठप्प पार्ने क्रियाकलाप पार्टी सभापतिबाट होस वा वरिष्ठ नेताबाट होस् र पार्टीका अरु मै हुँ भन्ने नेताहरूबाट भयो भने तरुणले खबरदारी गर्नुपर्छ’, सभापति थापाले चेतावनीयुक्त शैलीमा भनेका छन् ।

सभापति देउवालाई पौडेल समूहले कोरोना महामारिका बेला महाधिवेशन गर्न सकेन भनेर आलोचना गरिरहेका बेला भक्तपुर कांग्रेसका सभपाति थापाले उनीहरूको भण्डाफोर गरिदिएका छन् ।

Published : Thursday, 2021 August 12, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया