१४औँ महाधिवेशनको यस्तो हुनेछ कांग्रेसको नयाँ कार्यतालिका, आलोचकहरूको मुख बन्द

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलाले लिक बाहिर गएको संविधानलाई सहि ट्रयाकमा ल्याएको जनाएको छ ।

काठमाडौंको बुढानिकलण्ठमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटनको असंवैधानिक कदमविरुद्धमा ऐक्यवद्ध गठबन्धनका राजनीतिक दलहरूसहित सबैलाई धन्यावद दिएको छ ।

‘संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा ऐक्यवद्ध गठबन्धनका राजनैतिक दलहरू, संचार माध्यम, नागरिक समाज र सचेत नेपालीको साझा भावना र संविधानको मर्म अनुरुप सम्मानित सर्वोच्च अदालतको फैसलाले लिक बाहिर गएको संविधानलाई सहि ट्रयाकमा ल्याएको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

‘संविधानको धारा ७६(५) अनुरुप देशले प्रतिनिधि सभामा १६५ सदस्यको समर्थन सहित नयाँ प्रधानमन्त्री प्राप्त गरेको छ’, कांग्रेसले भनेको छ, ‘कोभिड–१९ को महामारी र बाढीपहिरोबाट आक्रान्त जनताको रक्षा र राहतका कार्यसँगै संविधानको मर्म र जनताको भावना अनुरुप कार्य गर्न दलहरूबीचको सहमति अनुरुप अघि बढ्न नयाँ सरकारलाई सफलता मिलोस्, कार्यसमितिको यो बैठक हार्दिक शुभकामना व्यक्त गर्दछ ।’

बैठकमा अन्य राजनीतिक दल समायोजन समितिका संयोजक एवम् उप–सभापति विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महामन्त्री पूर्णबहादुर खड्काले बैठकको प्रारम्भमा विभिन्न प्रस्तावहरू प्रस्तुत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यसमितिको बैठकले सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बनेकोमा बधाई दिएको छ ।

बैठकमा १४औँ महाधिवेशनका विषयमा नेताहरूले धारणा राखेका थिए । महाधिवेशन गर्न नेताहरूले विभिन्न उपायका विषयमा पनि धारणा राखेको जनाइएको छ ।

कांग्रेसले १४औँ महाधिवेशनलाई संविधान र कानूनी मर्यादाको समयसीमाभित्रै कोरोना संक्रमण, स्वास्थ्य मापदण्ड पालना गर्दै राजनीतिक आवश्यक्ता समेतलाई ध्यानमा राखी महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने संभावना छ ।

२०७८ भदौ महिनाबाट वडा , पालिका , प्रदेश ‘क’ र ‘ख’ , प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै क्रमशः प्रदेश र केन्द्रीय महाधिवेशन २०७८ मंसिर सम्ममा सम्पन्न गरिसक्ने कार्यतालिका आउन सक्ने बुझिएको छ ।

बैठकमा सह–महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, रमेश लेखक, कर्णबहादुर बुढा र योगेन्द्र चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा पुनः बस्नेछ ।

Published : Thursday, 2021 August 12, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया