कुपण्डोलमा कांग्रेसका ४० जिल्लाका सभापतिको गोप्य भेला, सरकार र महाधिवेशनबारे गतिलो निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका जिल्ला सभापतिहरूले पार्टीलाई मिलाएर सहमतिका साथ अगाडि बढाउन दवाव दिएका छन् ।

बुधबार र बिहीबार दुई दिन काठमाडौंको कुपण्डलस्थित होटेल समिटमा बसेको बैठकले पार्टीको १४औँ महाधिवेशनलाई सफलताका साथ सम्पन्न गर्न सहमति आवश्य रहेको बताएका हुन् । कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन पनि जिल्ला सभापतिहरूले सबैमा अपील गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा सफल हुँदा मात्रै कांग्रेस र मुलुक सफल हुनेभन्दै सरकारलाई सफल बनाउन आग्रह गरेका हुन् ।

मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले कोरोना महामारीका कारण १४औँ महाधिवेशन भदौमा गर्न कठिनाइ र चुनौती रहेको भन्दै सो विषयमा सबै शीर्ष नेतृत्व मिलेर समाधान निकाल्न आग्रह गरे ।

‘कम्युनिस्टले तहस नहस बनाएको मुलुकलाई सम्हालेर कांग्रेसले नेतृत्व गरेर जानुपर्ने अवस्था छ । कोरोना महामारीबाट ध्वस्त बनेको अर्थतन्त्र सम्हाल्नुछ । कोरोनाबाट जनताको जीवन बचाउनुछ’, बानियाँले भने, ‘यस्तो अवस्थामा पार्टीको महाधिवेशन गर्नुपर्ने दायित्व छ । हामी मिलेर गयौँ भनेर संकटका बेला सबै कुरालाई व्यवस्थापन गर्न सक्छौँ ।’

बैठकमा सहभागी सभापतिहरूले पार्टीभित्र देखिएका समस्यालाई शीर्ष नेताहरूले समाधान निकाल्नुपर्ने भन्दै समस्याबाट भाग्ने अधिकार कसैलाई नरहेको निष्कर्ष निकालिएको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवशन गर्न इमान्दारिता देखाएको भन्दै जिल्ला सभापतिहरूले पनि महाधिवेशनका लागि सभापति देउवालाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेका छन् । क्रियाशील सस्यताको विवादलाई पनि मिलाउन सकिने भन्दै थोरै गृहकार्य गर्ने हो भने मिलाउनै नसक्ने अवस्थामा पार्टीमा विवाद नरहेको जिल्ला सभापतिहरूले बताएका छन् ।

विभिन्न दलबाट नेपाली कांग्रेसका गाभिएका दल र नेता कार्यकर्तालाई उचित स्थान दिनुपर्ने भन्दै जिल्ला सभापतिहरूले सहमतिमा समायोजन भइसकेका जिल्लाको विवाद नकिल्न पनि आग्रह गरेका छन् । कांग्रेसलाई मन पराएर अन्य दलका नेता कार्यकर्ता आउँछन् भने उनीहरूलाई स्थान दिइनुपर्ने मकवानपुर कांग्रेसका सभापति बानियाँले बताए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेसले नचाहँदा नचाहँदै पनि सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आएको भन्दै पार्टीको महाधिवेशन र मुलुकलाई नेतृत्व गरेर जानुपर्ने अवस्था रहेको बताए ।

सभापति देउवा निकटका करीव ४० जना जिल्ला सभापतिहरूको सहभागिता रहेको थियो ।

Published : Thursday, 2021 August 12, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया