देउवा र आफ्नै सरकारविरुद्ध पौडेल समूहका जिल्ला सभापतिको भेला, नाइके बने बानियाँ–केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूह निकटका जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवामाथि दवाव बढाउने निर्णय गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाविरुद्ध काठमाडौंको ठमेलस्थित एक होटेलमा सोमबार र मंगलबार दुई दिनसम्म चलेको पौडेल समूह निकटका जिल्ला सभापतिहरूले देउवा र कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने कुनै पनि निर्णय गरेका छैनन् । उनीहरूले महाधिवेशनलाई केन्द्रमा राखेर छलफल चलाएका हुन् ।

काठमाडौं कांग्रेसका जिल्ला सभापति कृष्णसबुज बानियाँ र नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीको विशेष पहलमा सभापति देउवा र कांग्रेस नेतृत्वको सरकारविरुद्ध भेला भएको हो । सभापतिहरूको खाना बस्न र होटेल खर्च तथा भात, मासु र रक्सीको पैसा बानियाँ र केसीले व्यवस्थापन गरेको स्रोतले जनाएको छ । भेलामा डबल ब्ल्याक लेबल रक्सीको समेत व्यवस्था रहेको एक सभापतिले बताएका छन् ।

सबैभन्दा धेरै भाँडभैलो सभापति केसीकै जिल्ला नुवाकोटमा छ । रामशरण महर र प्रकाशशरण महतविरुद्ध केसी परिवार छ । काठमाडौंमा पनि सभापति बानियाँका कारण ठूलो बबाल छ । बानियाँले उपेन्द्र कार्की समूहलाई पेलान गर्दै आएको छ । कार्कीले समूहले बानियाँ समूहलाई अबको महाधिवेशनमा औकात देखाइदिने तयारी गरेको छ ।

सभापति बानियाँले एमाले निकटका एआईजी सहकुलबहादुर थापालाई बोकेर सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसम्म पुगेका थिए । एआईजी थापा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र महेश बस्नेतका खास मान्छे हुन् । पछिल्लो समय बानियाँको साँठगाँठ कम्युनिस्टसँग रहेको आरोप पनि छ ।

पौडेल समूहका सभापतिहरूले जानिबुझिकनै सरकारलाई सहयोग गर्ने विषयमा कुनै पनि निर्णय नगरेको एक सभापतिले बताए । ‘सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई असहयोग गर्ने निर्णय भएको छ’, भेलामा सहभागी एक सभापतिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘देउवालाई असफल बनाउनुपर्छ । अहिलेको सरकार असफल भयो भने देउवा असफल हुन्छन् । त्यसको फाइदा हामीलाई महाधिवेशनमा हुन्छ ।’

क्रियाशील सदस्यता विवादमा सम्पूर्णरुपमा समाधान निकालेर महाधिवेशन वा विवाद समाधान नभए १३औं महाधिवेशनको प्रतिनिधिमार्फत् विशेष महाधिवेशन गर्न पौडेल समूहका जिल्ला सभापतिहरूको माग छ । देउवालाई महाधिवेशन गराउन सहयोग गर्नेभन्दा पनि पौडेल समूहले विभिन्न बखेडा गरेर असहयोग गर्दै आएको आरोप छ ।

उनीहरूले १४औं महाधिवेशन भदौ २३ अघि गर्नका लागि देउवालाई दबाब सिर्जना गनुपर्ने निर्णय पनि गरेका छन् । कोरोना महामारीका बेला कसरी महाविधेशन गर्ने हो त्यस विषयमा केही भनिएको छैन ।

सभापति देउवाले महाधिवेशन गर्न नचाहेका होइनन् । देउवाले महाधिवेशन गर्न कामहरू गरिरहेका छन् । तर, देउवालाई पौडेल समूहले गुटको बैठक र भेलाहरू गरेर शुरुवातदेखि नै असहयोग गर्दै आएको छ । कोरोना महामारीका बेला देउवाले मात्रै कसरी महाधिवेशन गराउने हुन् पौडेल समूहले केही भनेको छैन ।

महाधिवेशनका बेला पौडेल समूहले समायोजनमा सहमति भएका विषयलाई पनि बखेडा झिकेका छन् । क्रियाशील सदस्यता वितरणमा पनि पौडेल समूहले विवाद झिकेर देउवाको बद्नाम गर्ने प्रयासहरू गरिरहेको छ । कांग्रेस बन्न चाहने नयाँ व्यक्तिलाई क्रियाशील सदस्यता दिन पौडेल समूहले खुट्टा कमाएको छ ।

काठमाडौंमा देउवा र कांग्रेस नेतृत्वको सरकारविरुद्ध भेला भएका जिल्ला सभापतिहरूले आफ्नै जिल्लामा कांग्रेसका संगठन भताभुङ्ग बनाएका छन् । तर, उनीहरूले जिल्लामा कांग्रेस बनाउनुपर्नेमा काठमाडौंमा भेला भएर देउवा र आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने निर्णय गरेर कम्युनिस्टलाई हसाँउने कार्य गरेका छन् ।

जिल्ला सभापतिहरुले राखेको सुझावका आधारमा बुधबार निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

सभापतिहरूले कांग्रेसको इतिहासमै १४औँ महाधिवेशन सबैभन्दा अन्योलग्रस्त बनेको बताएका छन् । पार्टीको वैधानिकताको खतरा देखेको उनीहरूले बताएका छन् ।

‘क्रियाशील सदस्यताकै विषयमा छलफल बढी केन्द्रित भएका थियौँ’, काभ्रे कांग्रेसका सभापति मधु आचार्यले भने, ‘४० जिल्लामा अहिले पनि समस्या रहेको सूचना छन् ।’

भेलामा सहभागीले क्रियाशील सदस्यताको नामावली साइटमा उपलब्ध नगराएकोप्रति आपत्ति जनाएका थिए ।

नाम साइटमा उपलब्ध भएमात्रै जटिल खालको समस्या नेतृत्वलाई ध्यानाकर्षण गर्न सकिने आचार्यले बताएका छन् । कतिपय नामहरू इन्ट्री नभएको जानकारी आएको आचार्यले बताएका छन् ।

पौडेल समूहका जिल्ला सभापतिहरूको भेलामा ३८ जना जिल्ला सभापतिको उपस्थिति रहेको थियो । केही सभापतिहरू भर्चुअल माध्यमबाट सहभागी भएको दाबी गरिएको छ ।

मंगलबारको भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मीनेन्द्र रिजाल, गगन थापालगायतका नेताले आ–आफ्नो विचार राखेका थिए ।

Published : Tuesday, 2021 August 10, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया