देउवाले राम्रो काम गर्न थालेपछि ओलीलाई ‘पारो’ चढ्यो, एमालेका यस्ता धम्की

काठमाडौं । प्रमुख विपक्षी दल एमालेका संसदीय दलका नेता खड्गप्रसाद ओलीले प्रधानमन्त्री पद फुत्किएको पीडा पोखेका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रको समस्याका कारण प्रधानमन्त्री पद फुत्काउनु परेको घुमाउरो भाषामा भनेका छन् । उनले भने, ‘मेरो पार्टीभित्र समस्या पैदा भए । सबैलाई थाहा छ ।’

पार्टीभित्रको समस्या व्यवस्थापन गर्न नसकेपछि झण्डै दुईतिहाइ बहुमत हुँदाहुँदै ओलीले साढे तीन वर्षभित्र प्रधानमन्त्री पद गुमाउनु परेको थियो । ओलीले आफूबाट गरेको गल्ती, दम्भ र अहँकार गरेका कारण प्रधानमन्त्री पद फुत्किएको भुलेर संसदमा गुनासाहरू गरेका थिए ।

ओलीले सर्वोच्च अदालतको आलोचना समेत गरेका थिए । दुईतिहाइको बहुमत हुँदाहुँदै ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधि सभा दुई पटक विघटन गरेका थिए । उनले यो कुरालाई पनि भुलेका छन् ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नानाभाँती आक्षेपहरू लगाएका छन् । उनले आफ्नो सम्बोधनको समयमा देउवाप्रति आक्रोश पोखेका छन् ।

ओलीले प्रधानमन्त्री देउवालाई आफ्नै दलका मानिसलाई पनि मन्त्री बनाइदिन अनुरोध गरेको बताएका छन् । उनले मन्त्री खान कुदेकाहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई अनुरोध गरेका हुन् ।

‘मेरै पार्टीका केही मानिसहरू पाउँला र खाउँला भनेर यहाँ (देउवा) का पछाडि कुदेका छन् । तिनीहरूलाई मन्त्री बनाइदिनुस् न’, ओलीले भने, ‘किन बिलम्ब गर्नुभएको ?’

उनले मन्त्री खान स्वाँस्वाँ र फ्याँफ्याँ गरिरहेको भन्दै सांसदहरूप्रति कटाक्ष पनि गरेका छन् । साउन ३ मा प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।

‘पछिपछि हिँडेका छन् प्लिज तिनीहरूलाई मन्त्री बनाइदिनु न’, ओलीले भने, ‘बिहान–बेलुकी चाकरीमा हाजिर भएका छन् । मेरो दलमा घाटा भए सहुँला बुझुँला, मन्त्री बनाइदिनुस् ।’

ओलीले संसदमा एमसीसी पेश गर्न आग्रह गर्दा प्रधानमन्त्री देउवाले समर्थनमा टाउको हल्लाएका छन् ।

उनले एमसीसीको प्रस्ताव संसद्कै टेबुलमा रहेकाले पेश गर्न आग्रह गरेका थिए । देउवाप्रति हेर्दै ओलीले संसद्मा एमसीसी पेश गर्न आग्रह गरे ।
ओलीको बोलीमा समर्थन जनाउँदै देउवाले पेश गर्ने आशयको टाउनको हल्लाएका थिए ।

‘एससीसी यहीँ छ । एमसीसी पेश गर्न भन्नुस्’, उनले भने, ‘आफैसँग १६५ छ । निणयार्थ प्रस्तुत गर्दछु भनेपछि सबै १६५ जनाको दुबै हातले डमडम बज्छन् ।’

नागरिकता विधेयक पनि यसै अधिवेशनमा पेश गर्न उनले आग्रह गरेका छन् । ‘यहाँ पेश गर्नुस् भनेपछि तपाईंले अधिवेशन बन्द गरिदिन बेर छैन’, ओलीले भने, ‘अधिवेशन बन्द नगर्नुस् । विधेयकहरू पास गर्नुस् ।’

Published : Tuesday, 2021 August 10, 4:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया