ओली–बस्नेतको भाउँतोले ठाकुरको बिचल्ली, पूर्व तमलोपाका नेताहरूले राजेन्द्र महतोलाई लखेट्ने

काठमाडौं । महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष पद गुमाएसँगै पूर्व तमलोपाका नेताहरू राजेन्द्र महतोसँग रिसाएर आगो बनेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता पाएपछि ठाकुरको अध्यक्ष पद फुत्किएको हो । महतोको भाउँतोमा लागेर पार्टीभित्र छन्नभाँती निर्णयहरू गराएपछि जसपा फुटको संघारमा पुगेर बालबाल बचेको छ । महतोको महत्वकांक्षाका कारण खड्ग्रसाद ओली र महेश बस्नेतको पछाडि लाग्दा ठाकुर र पूर्व तमलोपाका नेताहरू तनावमा परेका हुन् ।

जसपा तत्कालका लागि फुटबाट बचे पनि ठाकुरले पार्टी फुटाउने पक्का जस्तै छ । पार्टी फुटाउन महतोले ठाकुरलाई उचाल्दै आएका छन् ।

ठाकुरले महतोको साथ छाडेर जाने हो भने जसपामा सम्मानजनक स्थान पाउन सक्छन् । तर, ठाकुरलाई महतोप्रति धेरै मोह भएका कारण पूर्व तमलोपाका नेताहरूको राजनीति धरापमा परेको चर्चा छ ।

जसपाले निर्वाचन आयोगमा पठाएको अद्यावधिक सूचीलाई आयोगको किताबखानामा दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

अद्यावधिक गरिएको सूचीमा जसपामा एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

आयोगमा अद्यावधिक गरिएको सूचीमा ठाकुर र उनीनिकट राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, निर्जला राउत, चन्दा चौधरी, केशव झालगायत १६ जनाको कार्यकारिणी सदस्य पद गुमेको छ । अब उनीहरू पार्टीको साधारण सदस्यमात्र रहनेछन् । जसपाको कार्यकारिणी समिति अब ३५ सदस्यीय भएको छ ।

निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अध्यक्ष यादवलाई साथ दिएका कार्यकारिणी समितिका ३४ सदस्यलाई अद्यावधिक गरिएको सूचीमा राखिएको छ ।

हेडकाउन्ट हुँदा तटस्थ देखिएका रेशम चौधरीलाई पनि अध्यक्ष यादवले कार्यकारिणी समितिमा राखेका छन् । हेडकाउन्टमा ठाकुरको पक्षमा उभिएका १६ जना कार्यकारिणी सदस्यलाई सूचीबाट हटाइएको छ ।

Published : Tuesday, 2021 August 10, 8:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया