कांग्रेस नेतृत्वको सरकारलाई असफल बनाउन महाराजगञ्जमा बैठक

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भदौ २३ अघि १४औँ महाधिवेशन हुनुपर्ने माग राखेको छ ।

काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा सोमबार बसेको पौडेल समूहको बैठकले संविधानले दिएको अवधिभित्र महाधिवेशन गर्नुपर्ने अडान राख्ने निर्णय गरेको हो ।

पौडेल समूहले तल्लो संरचनाको अधिवेशन छोट्याएर भए पनि केन्द्रको महाधिवेशन गर्नुपर्ने अडान राख्ने निर्णय गरेको नेता पौडेलले पत्रकारहरूसँग कुरा गर्दै जानकारी दिए ।

क्रियाशील सदस्यताको विवाद साउन २८ गतेभित्र टुंग्याउनु पर्नेभन्दै भदौ २३ भित्र १४औं महाधिवेशन हुनुपर्ने निर्णय पौडेल समूहको छ ।

क्रियाशील सदस्यताको कार्य ९८ प्रतिशत सकिएकोले तोकिएको समयमा महाधिवेशन गर्न सकिने पौडेल समूहको भनाइ छ ।

बैठकमा महाधिवेशनका विषयमा छलफल भएपनि कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउने विषयमा कुनै पनि परामर्श भएन ।

कम्युनिस्टहरू असफल भएपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् ।

प्रधानमन्त्री देउवा र सरकारलाई सहयोग गर्ने विषयमा पौडेल समूहको बैठकमा छलफलले प्रवेश नै पाएन ।

प्रधानमन्त्री देउवा र कांग्रेस नेतृत्वको सरकारलाई असहयोग गरेर असफल बनाउन पौडेल समूहले बैठक र भेलाहरू राखेको आरोप लागेका बेला सरकारका विषयमा एक शब्द पनि छलफल भएको छैन ।

बैठकमा महाधिवेशनको कुरा उठाएर सरकारलाई असहयोग गर्ने र प्रधानमन्त्री देउवालाई असफल बनाउने विषयमा समेत चर्चा भएको आरोप छ ।

Published : Tuesday, 2021 August 10, 12:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया