ओलीले नेपाल समूहलाई लात हाने, शंकर पोखरेलका पति–पत्नीले फेरि अवसर पाए

काठमाडौं । एमालेले भदौमा आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ ।

सोमबार राजधानीमा बसेको केन्द्रीय कमिटीको बैठकले समिति गठन गरेको हो । भदौ २७ र २८ गते विधान महाधिवेशन हुनेछ ।

महासचिव ईश्वर पोखरेलले विभिन्न चार वटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका छन् ।

राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा केपी ओली रहेका छन् । सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे रहेका छन् ।

संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ । समितिको सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पद्मा अर्याल रहेका छन् ।

विधान संशोधन मस्यौदा समितिको संयोजकमा विष्णु पौडेल रहेका छन् । सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साह रहेका छन् ।

व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी रामबहादुर थापालाई दिइएको छ । सदस्यहरूमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा रहेका छन् ।

ओलीले शंकर पोखरेल र उनकी पत्नी सुजिता शाक्यलाई समितिहरूमा सदस्य बनाएका छन् । पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री छन् ।

उनकी पत्नी शाक्य प्रतिनिधि सभामा समानुपातिक सांसद छिन् । अवसर पाउनेमा यो जोडी अग्रभागमा छ ।

ओली निकटका केन्द्रीय सदस्यहरूमा मात्रै सहभागी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई समितिहरूमा सहभागी गराएका छैन ।

ओली समूहले नेपाल समूहलाई बाहिर राखेपछि एमालेभित्र औपचारिक रुपमा विभाजनको बीउ ओलीले रोपेको आरोप छ ।

Published : Monday, 2021 August 9, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया