प्रधानमन्त्रीमा १७ पटक पराजित त्यागी नेता पौडेल होसमा आउनुस्, लाभ लिनेमा नं. वान

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्टहरू साढे तीन वर्षमै असफल भएपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।

तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली असफल भएपछि सभापति शेरबहादुर देउवाले मुलुकको नेतृत्व सम्हालेको एक महिना पुगेको छैन । देउवाले प्रधानमन्त्री बन्दैन भन्दाभन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, गगन थापालगायतका नेताहरूको दवावमा कांग्रेस सरकारको नेतृत्व लिन बाध्य भएको हो ।

ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि देउवा निर्वाचनमा जान तयार थिए । देउवा निर्वाचनमा गएर कांग्रेसलाई ठूलो पार्टी बनाउन चाहन्थे । व्यक्तिगत स्वार्थका लागि पौडेल समूहले देउवाको चुनावमा जाने योजनाको सधैँ विरोध गरेर धकेलेर सत्तामा पुर्‍याए ।

कम्युनिस्टहरू असफल भएपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव पटक–पटक बुढानिकलण्ठ पुगेर प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर विन्तिपत्र हालेको थिए । अन्य दल र पार्टीभित्रैको दवाव खेप्न नसकेर देउवा प्रधानमन्त्री बने ।

सरकारको नेतृत्व लिनुपर्छ र सरकार कांग्रेसले बनाउनुपर्छ भन्ने विषयमा विवाद हुँदा चितवनको भरतपुरमा भएको एउटा शोक सभा र काठमाडौंको अर्को कार्यक्रममा सभापति देउवालाई कुटौला जस्तै गरी नेता पौडेलले मञ्चमै आक्रोश पोखरेर धार्नेहात लगाएका थिए । देउवाको मुखसम्म हात पुर्‍याएका थिए ।

‘देउवालाई प्रधानमन्त्री बनाउन लागेको छु’ भनेर नेता पौडेल जसपाका नेता महन्थ ठाकुरलाई फकाउन उनको निवाससम्म पुगेका थिए । देउवालाई प्रधानमन्त्री बनाएर बद्नाम गरेर पार्टी नेतृत्व हत्याउने योजना थियो भन्ने कुरा सोमबार बिहान पौडेलद्वारा लेखिएको फेसबुक पेजको स्टाटसले स्पष्ट बनाइदिएको छ ।

पौडेल प्रधानमन्त्री बन्न १७ पटकसम्म प्रतिनिधि सभामा पराजित भएका कांग्रेसका नेता हुन् । त्यस बेला प्रधानमन्त्री बन्न पौडेलले सबै प्रयासहरू गरेका थिए । प्रधानमन्त्री बन्न असफल भए । पौडेललाई नराम्रोसँग पराजित गरेर एमालेका झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए ।

हुन त सभामुख बनिसकेका नेता पौडेलले मन्त्री पद खाएका थिए । मन्त्रीपछि उप–प्रधानमन्त्री बने । मन्त्री खानकै लागि पौडेलले आफ्नो मर्यादालाई भुलेर उप–प्रधानमन्त्री छाडेर शान्ति मन्त्री समेत बनेका थिए । सुशील कोइरालाको निधन भएपछि पौडेल कांग्रेसको कार्यबाहक सभापति पनि बनेका थिए ।

छोरा चिन्तन पौडेल र ज्वाइँ तथा परिवारका सदस्यहरूलाई सरकारी नियुक्तिहरू गराएर लाभ लिएका नेता पौडेल त्यागी नै हुन् ।

आफूलाई सधैँ त्यागी नेता भन्न रुचाउने पौडेल कांग्रेसभित्र सबैभन्दा धेरै अवसर लिने नेतामा पर्छन् । पदकै लागि सभामुख र उप–प्रधानमन्त्री पदको गरिमा भुलेर मन्त्री बन्न समेत भ्याउने पौडेलका पछिल्ला गतिविधिहरू कांग्रेसलाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने खालका रहँदै आएको चर्चा छ ।

गृहजिल्ला तनहुँमा अलोकप्रिय भएपछि सधैँ आफू उम्मेदवार बन्दै आएको क्षेत्र छाडेर पौडेल अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन् । पौडेल एमालेका उम्मेदवारसँग पराजित भएपछि साढे तीन वर्षदेखि तनावमा छन् । यस पटक पनि पौडेलले तनहुँमा जित्ने सम्भावना निकै कम रहेको चर्चा कांग्रेसभित्र छ ।

पूर्वसह–महामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीलाई पार्टीबाट निष्काषन गरेका पौडेलका लागि आगामी दिन सजिला छैनन् । त्यागी र लोभ नभएको बताउने वरिष्ठ नेता पौडेल एक्लिदै गएका छन् । हुन त पौडेललाई मन्त्री पद बेचेको आरोप पनि लाग्ने गरेको छ । कांग्रेस नेता जोशीले पौडेललाई मन्त्री पद बिक्री गरेको आरोप लगाउँदै आएका छन् ।

सोमबार बिहान पौडेलले लेखेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।’

‘आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरिह अवस्थामा पुर्‍याइएको छ’, पौडेलले फेसबुकमा लेखेका छन् ।

‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?’, पौडेलले भनेका छन्, ‘यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरू वारम्वार सत्ता समाल्न पुग्छन् ।’

पौडेलले सभापति एवम् प्रधानमन्त्री देउवाको नाम नलिए पछि देउवालाई नै असफल भनेर आलोचना गरेका छन् । प्रधानमन्त्रीका लागि १७ पटक पराजित भएका नेता पौडेल असफल हुन् वा देउवा त्यसको छिनोफानो तनहुँका मतदाताले एक पटक गरिसकेका छन् । त्यागी नेतालाई किन १७ पटक पराजय भोग्ने अवस्था भयो ? कांग्रेसका नेता कार्यकर्ताले राम्रोसँग बुझेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशन तोकिएको समयभित्र हुनुपर्छ । यसमा कसैको पनि दुई मत छैन । महाधिवेशन गर्ने तयारी भएका बेला कोरोनाभाइरसको महामारी नै फैलियो । अवस्था नियन्त्रण बाहिर गयो । यो कुरा पौडेललाई राम्रोसँग थाहा छै । पार्टीको महाधिवेशन समयमा गर्दा त्यसको अपजस आफूले बोक्नुपर्छ भन्ने कुरा देउवालाई पनि थाहा छ ।

देउवा महाधिवेशन गर्न तयारी अवस्थामा छन् । विभिन्न पार्टीहरू कांग्रेसमा मिसिएका छन् । तिनीहरूलाई समायोजन गरिएको छ । क्रियाशील सदस्यता वितरण भएका छन् । केही ठाउँमा विवाद छन् । विवाद भएका विषयमा नेताहरू बसेर मिलाउनुपर्ने थियो । मिलाएका छैनन् ।

आफू खुसी गुटको बैठक बसेर छन्नभाँती निर्णयहरू पौडेल समूहले गरेका छन् । पौडेल समूहले सहमतिमा समायोजन भएका विषयलाई पनि उठाएर बखेडा गरिरहेको छ । क्रियाशील सदस्यतामा पनि विवाद निकालिएको छ ।

Published : Monday, 2021 August 9, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया