काठमाडौंमा जुवाडेको ठूलो ग्याङ पक्राउ, ६ लाख खाएर प्रहरीले मान्छेहरू भगायो

काठमाडौं । प्रहरीले काठमाडौंमा २९ जना जुवाडेलाई ६ लाख नगदसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ स्थित डल्लुबाट प्रहरीले जुवा खेलिरहेको अवस्थमा २९ जनालाई पक्राउ गरिएको हो ।

मंगलबार प्रकाश शाहीको घरमा रहेको जुवा खालबाट प्रहरीले ६ लाख ३ हजार नगद र २६ थान ओखर बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

क्राउ पर्नेमा काभ्रेको पाँचखाल घर भई बौद्ध बस्ने सुनिता तामाङ, ललितपुर घर भएकी निरु वाइबा, जुम्लाका गगनकली गौचन, भक्तपुर घर भएका दिलुकुमार शाही र रामेछाप घर भएका आङछिरिङ शेर्पासहित २९ जना छन् ।

उता, कैलालीमा प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप लागेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एक रेष्टुरेन्टमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीबाट प्रहरीको टोली पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली जुवाडेसँग भएको झण्डै ८ लाख रुपैयाँ बरामद गरेर उनीहरुलाई भगाएको आरोप लागेको हो । रेष्टुरेन्टको घर्रामा राखिएको ६ लाख, सबैको खल्तीमा भएको समेत गरेर थप दुई लाख रुपैयाँ खोसेर प्रहरीले लगेको आरोप छ ।

प्रहरी स्रोतका अनुसार रकम बरामद गरेपछि जुवाडेहरूलाई पक्राउ गर्नुको साटो छोडिएको थियो ।

रकम असुलेर जुवाडेलाई भगाएको भन्ने आरोप निराधार भएको बताउँदै प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले प्रमाणसहित आएमा सम्बन्धित प्रहरीलाई कारबाहीको दायरामा ल्याइने जनाएका छन् ।

Published : Tuesday, 2021 August 3, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया