राज्यमन्त्री श्रेष्ठले कांग्रेसको इज्जत बढाउने काम गरे, देउवा पनि खुसी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

मन्त्रालयमा सोमबार आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु ।’

‘पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु’, उनले भनेका छन् ।

श्रेष्ठले आफू संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानूनी रूपमा त्याग गरिसकेको बताएका छन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी छ । नेपाली कांग्रेसका सांसद समेत रहेका श्रेष्ठले आफ्ना आलोचकहरूलाई गतिलो जवाफ दिएका छन् ।

श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भएको थियो । राज्यमन्त्री श्रेष्ठको यो निर्णयले प्रधानमन्त्री देउवा पनि खुसी भएका छन् । देशभरिका कांग्रेसका नेता कार्यकर्ताहरू खुसी भएका छन् ।

यसैबीच, स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् । श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् ।

चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्नेछ । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उनले जानकारी दिए ।

चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ । अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

आफू मन्त्रालयमा आएपछि मोडेर्नाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको उनले बताएका छन् ।

अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

१२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ भएको बताए । ‘उत्पादन कम्पनीसँग खरिद प्रक्रिया थालेका छौं’, उनले भने, ‘आगामी पुस माघसम्म २ करोड २३ लाख खोप उपलब्ध हुन्छ ।’

हालसम्म ९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने उनले बताएका छन् ।

Published : Monday, 2021 August 2, 5:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया