हेलम्बुलाई लिएर बस्नेतले प्रधानमन्त्री र गृह मन्त्रीको फोनको घण्टी बजाए, उद्धार र सहयोग गर्ने घोषणा

हेलम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बाढीपहिरोबाट हेलम्बु, पाँचपोखरी र मेलम्चीमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि हात अगाडि बढाएका छन् ।

कांग्रेस नेता बस्नेतले हेलम्बु, पाँचपोखरी र मेलम्चीमा भएको नोक्सानीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर क्षतिका विषयमा जानकारी गराउँदै सहयोगका लागि अपील गरेका हुन् ।

बाढीपहिरोबाट आइतबार बिहान ८ बजे हेलम्बुलगायत पाँचपोखरी र मेलम्चीका केही भू–भागसँग स्थलमार्ग जोडिने लाईफलाईनको रुपमा रहेको रातो पुल समेत बगाएको घटनाले अत्यन्तै दुखी भएको उनले बताएका छन् ।

‘दुःखद् घटनालाई मध्यनजर गरि मैले नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग सम्पर्क गरि घटनाको बारेमा विस्तृत जानकारी गराएको छु’, बस्नेतले भने, ‘तुरुन्तै नेपाल सरकारको सहयोगमा आवातजावतका लागि सहजीकरण गर्न बेलीबृज निर्माण गरिने कुरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।’

नेता बस्नेतले प्राकृतिक विपत्तिको चपेटामा परेका सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूलाई त्रसित नभई सुरक्षित स्थानमा बस्नका लागि अपील गरेका छन् ।

‘सदाका दिनहरूमा झै तपाईंहरूलाई अत्यावश्यक पर्ने खाद्यान्न, स्वास्थ्योपचार, लत्ताकपडा, स्वास्थ्य सामग्री लगायत जुस्तो सुकै सहयोगको लागि तयार रहेको जानकारी गराउँदछु’, कांग्रेस नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

कांग्रेस नेता बस्नेतको अनुरोधसँगै नेपाल सरकारले हेलम्बु, पाँचपोखरी र मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट नोक्सानीका बारेमा उद्धार तथा राहतका लागि पहल गर्न गृहमन्त्री खाणले आकस्मिक बैठक गरेर काम अगाडि बढाइसकेका छन् ।

Published : Sunday, 2021 August 1, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया