यी कम्युनिस्टहरूले लाजले भुतुक्कै हुने गरि दाङको बेइज्जत गरे

घोराही । कथित वाम गठबन्धनको नाममा झण्डै दुईतिहाइ बहुमत पाएका एमाले र माओवादी केन्द्रका नेताहरूले दाङको नाम बेइज्जत गरेका छन् ।

दाङबाट प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका कृष्णबहादुर महरा, लुम्बिनी प्रदेशको सांसद पदमा निर्वाचित शंकर पोखरेल र विमला ओलीले गरेका हर्कतहरूले दाङको बेइज्जत भएको हो ।

रोशनी शाही काण्डमा दुई वटा अदालतबाट सफाइ पाएका कृष्णबहादुर महराले सभामुख पद फुत्काउनु पर्‍यो । महरा राजनीतिमा गुमनाम जस्तै छन् । महराले सफाइ पाएपनि उनीमाथी लागेको रोशनी शाही यौनकाण्डले दंगालीलाई बेलाबेला झस्काइ रहन्छ ।

काठमाडौं जिल्ला अदालत र उच्च अदालत ललितपुरबाट सफाइ पाए पनि महरामाथि समाजमा कहिल्यै नमेटिने दाग लागेको छ । रोल्पाबाट झरेर दाङ क्षेत्र नं. २ बाट निर्वाचित भएका महराले दाङमा आफ्ना मतदातासँग नजर उठाएर पनि हेर्न सकेका छैनन् ।

एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि दाङको बेइज्जत गरेको आरोप छ । मुख्यमन्त्री पदमा बसिरहन पोखरेलले गरेका हर्कत र कीर्ते काण्डले दंगालीहरूको चित्त दुखेको छ ।

मुख्यमन्त्री पद फुत्किने भएपछि राजीनामा दिएर हतार–हतार मनोनीत भएका थिए । पोखरेललाई एमालेको लेटेर प्याडमा तत्कालीन प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरूले पोखरेलले मुख्यमन्त्री पदमा रहिरन कीर्ते र संविधान विरुद्धको जालझेल गरेको आरोप लगाएका छन् ।

अल्पमतमा पर्दा समेत पोखरेलले मुख्यमन्त्री पद छोडेका छैनन् । उनलाई साथ दिएका जसपाका तीन जना सांसदको पद नै फुत्किसकेको छ ।

मुख्यमन्त्री पद कब्जा गरेर बसेका छन् । बजेट पास गर्न नसकेपछि लुम्बिनी प्रदेश सभाबाट भागेका मुख्यमन्त्री पोखरेलले अर्को दिन अध्यादेशबाट बजेट ल्याएर सबैलाई चकित तुल्याइदिएका छन् ।

पोखरेल आफ्नो घर रहेको क्षेत्रबाट उम्मेदवार नबनेर दाङ क्षेत्र नं. २ ‘क’बाट निर्वाचत बनेका थिए । पोखरेल दाङमा एमालेभित्रै अलोप्रिय छन् । पोखरेलले पछिल्लो समय ‘मण्डले’हरूलाई साथ लिएपछि दाङ एमालेभित्र खैलाबैला भएको छ ।

लुम्बिनी प्रदेशकी सांसद विमला खत्री ओली अहिले आएर बेपत्ता भएकी छिन् । माओवादी केन्द्रसँग सम्पर्क बिहीन बनेकी छिन् । पोखरेलको मुख्यमन्त्री पद फुत्किने बेला माओवादी सांसद खत्री वेपत्ता भएपछि उनको हर्कतले दंगाली जनता चिन्तित छन् ।

सांसद खत्री अहिले आएर माओवादीसँग सम्पर्क बिहीन हुनु र पोखरेलको मुख्यमन्त्री पद बचाउन हर्कत गरेको भन्दै आलोचना भएका छन् ।

सांसद खत्रीले ६६ लाख लिएर माओवादीलाई साथ दिएको आरोप पनि छ । खत्री दाङबाट प्रदेशसभा ३ (ख) बाट नेकपा हुँदा निर्वाचित भएकी थिइन् ।

दङ्गाली जनताबाट निर्वाचित भएका कम्युनिस्ट यी नेताहरूको हर्कतको हिसाब किताब अबको निर्वाचनमा मतदाताहरूले लिनेछन् ।

Published : Saturday, 2021 July 31, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया