देउवाको मिशन सफल पार्न बस्नेतले चौताराबाट शुरु गरे अभियान, खेलाडीहरूद्वारा रक्तदान

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले रगतको अभावले अबदेखि सिन्धुपाल्चोकका सुत्केरी, बिरामी र घाइतेले ज्यान गुमाउने अवस्था अन्त्य भएको बताएका छन् ।

कांग्रेसको खेलकुद विभाग र लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको चौतारामा शुक्रबार आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम राखिएको बताए । उनले रगत नपाएकै कारण बिरामीले मर्नुपर्ने अस्था अन्त्य गर्ने प्रयास गरिएको बताए ।

सिन्धुपाल्चोक जिल्लामा रगत राख्नका लागि रेफ्रिजेरेटर थिएन । बस्नेतको पहलमा कांग्रेसका शुभेच्छुकहरूले चौतारा र बाह्रबिसेलाई रेफ्रिजेरेटर उपलब्ध गराइएको थियो । रेफ्रिजेरेटरमा आएपछि बिरामीको उपचारमा सहयोग पुगोस् भनेर कांग्रेसका १ सय २ जना नेता कार्यकता र शुभेच्छुकहरूले रगत दान गरेका छन् ।

कांग्रेसका युवा नेताद्वय सुवास तिमिल्सिना र उमेश प्रधानले बाह्रबिसेमा रेफ्रिजेरेटर किनेर दिएका थिए । चौतारामा कांग्रेसका नेता एवम् व्यवसायी अमृत कार्कीले रेफ्रिजेरेटर उपलब्ध गराइदिएको कांग्रेस नेता बस्नेतले बताएका छन् ।

खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले भने, ‘रगतको अभाव भएर सुत्केरी, दुर्घटनामा परेका घाइतेलाई उपचारमा रगत अभाव भएकै कारण मृत्यु हुने छैन भन्ने विश्वास लिएका छौँ । अब सिन्धुपाल्चोकमै रगत दिएर बिरामीको उपचार गर्न सकिन्छ ।’

‘अब रेफ्रिजेरेटरमा ब्लड राख्छौँ । सिन्धुपाल्चोकमा रगत बढि भयो भने भक्तपुरको रेडक्रसलाई दिएर राख्छौँ । यहाँ चहियो भने भक्तपुरबाट ल्याउने कुरा भएको छ’, नेता बस्नेतले भने, ‘रगत नपाएर ज्यान जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा अक्सिजन सिलिण्डरहरू चीनबाट सबैभन्दा पहिला कांग्रेसले ल्याएर कोरोना महामारीका बेला जनताको उपचारमा सहयोग गरेको स्मरण गरेका छन् । उनले १७ वटा उपचार केन्द्र खोलेर कोरोनाविरुद्धको उपचार भइरहेको उनले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले बाढी पहिरोमा पनि सहयोग गरिरहेको भन्दै कांग्रेसले कोरोना र बाढीपहिरोका विरुद्धमा लड्ने बताएका छन् । उनले भने, ‘हाम्रा पार्टीका साथीहरू लाग्नुभएको छ । सबैको प्रयासले कोरोना र बाढीपहिरोको सामना गर्नेछौँ ।’

खेलकुद विभागका प्रमुख बस्नेतले कोरोना महामारीका बेला रगत अभाव भएर उपचारमा समस्या नहोस् भनेर काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा खेला र कांग्रेसका नेता कार्यकर्ताहरूमार्फत रक्तदान गराएका थिए ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली सत्ता चलाउन असफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।

देउवा सरकारलाई साथ दिन नेता बस्नेतले सिन्धुपाल्चोकबाट स्वास्थ्यको क्षेत्रमा शुक्रबार रक्तदान गरेर सहयोग गरेका छन् । देउवाको मिशन सफल पार्न सिन्धुपाल्चोकका खेलाडीहरूले रक्तादनमार्फत देशभरि गतिलो सन्देश दिएका छन् ।

Published : Friday, 2021 July 30, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया