प्रधानमन्त्रीलाई सफल बनाउने दायित्व तरुणहरूको होः अध्यक्ष बस्नेत, जिल्ला अध्यक्षहरूसँग भेट

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनौतीपूर्ण अवस्थामा प्रधानमन्त्री बनेको भन्दै देशभरिका तरुणहरूले सहयोग गर्नुपर्ने बताएका छन् ।

बिहीबार तरुण दलको केन्द्रीय कार्यालय, काठमाडौंमा विभिन्न जिल्लाबाट आएका जिल्ला अध्यक्ष र तरुण नेताहरूसँगको भेटघाटमा बस्नेतले प्रधानमन्त्री देउवालाई सहयोग गर्नुपर्ने समय आएको बताएका हुन् ।

नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले अध्यक्ष बस्नेतको भनाइ उदृत गर्दै भने, ‘सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बेला जनताको जीवन रक्षा र संविधान तथा लोकतन्त्रका लागि नेतृत्व लिनुभएको छ । उहाँलाई तरुणहरूको साथ रह्यो भने विरोधीहरूको धेरै षड्यन्त्र समाप्त हुनेछन् ।’

अध्यक्ष बस्नेतले भने, ‘जनताले कथित वामगठबन्धनलाई झण्डै दुईतिहाइको बहुमत दिएका थिए । कांग्रेसले पनि उनीहरूलाई सरकार चलाउन् भनेर सहयोग गरेको थियो । संसद विघटन गर्ने, अराजकता ल्याउने, लोकतन्त्र र संविधानमाथि प्रहार भएपछि बाध्य भएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु परेको छ ।’ बस्नेतले कांग्रेसले नचाहँदा नचाहँदै संविधान र लोकतन्त्र तथा कोरोना महामारीका बेला जनताले दुःख पाउन थालेपछि देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको बताएका छन् ।

कांग्रेस र प्रधानमन्त्री देउवाले सबै दलहरूलाई मिलाएर जनताका मागलाई सम्बोधन गर्नुपर्ने ठूलो चुनौती रहेको बस्नेतले बताए । उनले कोरोनाले अर्थतन्त्र तहस नहस भएको भन्दै बाँकी रहेको अर्थतन्त्र पनि ओलीले समाप्त पारेको बताएका छन् ।

केपी ओलीको अहँकार, अधिनायकवादी शैलीका कारण संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न भएको उनले बताए । संविधानको रक्षा र कोरोनाबाट जनतालाई बचाउन कांग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै यो सरकारलाई तरुणहरूको साथ रह्यो भने सफल हुने बताए ।

तरुण अध्यक्ष बस्नेतले तरुण दल सुर्खेतका हरि विष्ट, बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह, गुल्मीका अध्यक्ष भरत भलामी, धादिङका अध्यक्ष गोपाल विश्वकर्मा, नुवाकोट तरुण दलका पूर्वअध्यक्ष अर्जुन न्यौपाने, बैतडी कांग्रेसका नेता तेजबहादुर चन्दलगायतका तरुण नेताहरूसँग भेटघाट गरेका थिए ।

अध्यक्ष बस्नेतले जिल्लाहरूबाट आउने तरुण अध्यक्ष र नेताहरूलाई कार्यालयमा नियमित भेट गर्न थालेका छन् । उनले तरुणहरूको सुझाव र सल्लाहलाई पार्टी नेतृत्वसम्म पु¥याउनेछन् ।

Published : Friday, 2021 July 30, 10:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया