कास्कीमा एमालेको मेरुदण्ड भाँच्चियो, लोकप्रिय नेता दलबलसहित कांग्रेसमा प्रवेश

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका– १८ सराङकोटमा एमालेका एक सय २० भन्दा धेरै नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार कास्कीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले कास्कीका सचिवालय सदस्य सूर्यबहादुर खड्काको नेतृत्वमा एक सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नेता खड्का कास्कीमा लोप्रिय छन् । खड्काले पार्टी छाडेपछि एमालेलाई कास्कीमा धक्का लागेको छ ।

कांग्रेसका नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, उप–सभापति आइबहादुर गुरुङ र देवेन्द्र रानाभाटले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गरेका थिए ।

‘एमालेले भ्रम सृजना गर्न बाहेक केही गर्न सकेन, त्यसैले एमाले छाड्यौँ’, सूर्यबहादुर खड्काले भने, ‘एमालेमा लाग्दा गल्ती गरेछौं, त्यसैले कांग्रेसमा प्रवेश गरेका हौँ ।’

एमाले सरकारका रहँदा जनताको आधारभूत आवश्यकता पूरा नगरेको र सस्तो लोकप्रियताका लागि मात्र अघि बढेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नेता शुक्रराज शर्माले कांग्रेसमा मात्र सबै वर्ग र क्षेत्र सुरक्षित हुने बताए ।

‘कांग्रेस प्रवेश गरेर प्रजातन्त्र र स्वतन्त्रता रोज्नुभयो’, उनले भने, ‘तपाईहरूलाई पार्टीभित्र मर्यादा पाउनुहुन्छ ।’

कास्की कांग्रेसका सभापति कृष्ण केसीले जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर पार्टीले काम गर्नेभन्दै ढुक्क हुन आग्रह गरेका छन् ।

कांग्रेस कास्कीका सदस्य कृष्णप्रसाद तिमिल्सिना, आमन्त्रित सदस्य आशबहादुर गुरुङ, पोखरा–१८ इकाईका सभापति शिवप्रसाद तिमिल्सिना, नवप्रवेशी इन्द्रबहादुर जलारीले बोलेका थिए ।

Published : Thursday, 2021 July 29, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया