कांग्रेसका नेताहरूबीच कुरा मिल्यो, ५ दिनपछि फाइनल निर्णय

काठमाडौं । नेपाली कांग्रेसले ५ दिनभित्र क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको शीर्ष नेता, पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको तीन वटा गम्भीर विषयमा ५ दिनभित्र निर्णय गर्ने सहमति भएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले पत्रकारहरूसँग कुरा गर्दै तीन वटा विषयमा समस्या रहेको बताए । उनले अरु पार्टीबाट कांग्रेसमा आएकाहरूलाई नयाँ क्रियाशील सदस्यता दिने विषयमा विवाद रहेको बताए ।

‘अरु पार्टीबाट कांग्रेसमा आएका र समायोजन भएका नेता कार्यकर्तालाई क्रियाशील सदस्यता दिनेबारे निर्णय भएको थियो । त्यो विषयमा सहमति हुन सकेन’, उनले भने, ‘धनुषा– ४ र सर्लाही– २ को विषयमा पनि सहमति भएको छैन ।’

नेता लेखकले भने, ‘बारा र सप्तरी जिल्लाको नयाँतर्फका क्रियाशील सदस्यताको विषय छ । यो विषयलाई केन्द्रीय नेतृत्वको बीचमा सहमति भयो भने महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढ्छ ।’

लेखकले क्रियाशील सदस्यताको अधिकांश काम सकिएको भन्दै सहमति हुन बाँकी रहेका गम्भीर विषयलाई शीर्ष नेतृत्व तहबाट निर्णय हुने बताएका छन् ।

समितिले साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी आफ्नो प्रतिवेदन पदाधिकारी बैठकमा पेश गर्ने गरेर सभापति देउवालाई बुझाएको थियो ।

Published : Thursday, 2021 July 29, 6:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया