धन्दावाल यी दुई युवतीको धन्दाले प्रहरी नै चकित

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनको आरोपमा दुई जना युवतीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्लाको विर्तामोड नगरपालिका–९ की २० वर्षीया लक्ष्मी दास रहेकी छिन् । दासलाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ ।

सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका–२ की १९ वर्षीया खुश्बु विश्वकर्मालाई पनि प्रहरीले मंगलबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । दुबैलाई वीरगञ्जमा प्रहरीले पक्राउ गरेको छ ।

दास र विश्वकर्माले १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पु¥याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त भई पर्साबाट खटिएको टोलीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी दुई जना किशोरी र युवतीलाई उद्धार गरेको थियो ।

पर्साको वीरगञ्जमा पु¥याई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई वीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्‍याउने भनी झुक्याई भारतको बिहार राज्यको छौँडादानो भन्ने स्थानमा लगी मोबाइल फोन खोसी एक कोठामा राखी भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको सूचना पाएपछि पर्सा प्रहरीले अपरेशन गरेको थियो ।

ती दुई युवतीलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न दास र विश्वकर्मालाई वीरगञ्ज–१६, इनर्वास्थित नेपाल–भारत सीमानाबाट नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई जिल्ला अदालत पर्सामा पेश गरि ७ दिन म्याद थप गरि अनुसनधान अगाडि बढाइएको छ ।

Published : Wednesday, 2021 July 28, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया