कांग्रेस सभापति देउवाले पाए छानविन समितिको प्रतिवेदन, देशभरिका कार्यकर्तामा उत्साह

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

मंगलबार बुढानिलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा समितिका तर्फबाट संयोजक रमेश लेखकले सभापति देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

क्रियाशील सदस्यतमा समितिको प्रतिवेदनमा ९८ प्रतिशत कार्य सकेको जनाइएको छ । समितिले क्रियाशील सदस्यता टुंगो लगाउन बाँकी रहेकामा दुई प्रकृतिका छन् ।

१५औं महाधिवेशनमा क्रियाशील सदस्य हुन पाउने गरी केही नाममा समिति टुंगोमा पुगेको छ । सहमति बन्न नसकेका नामलाई टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतालाई दिइनेछ ।

१५औं महाधिवेशनमा क्रियाशील सदस्य हुन पाउने गरी समितिमा भएको निर्णयको आधारमा शीर्ष तहले थप समाधान खोज्ने कार्य गर्नेछैन ।

समितिले विवाद रहेको भनेर किटान गरेका स्थानको फाइलमा शीर्ष तहबाट समाधान खोजिनेछ । १५औं महाधिवेशनमा टुंग्याउने गरी समितिले तत्काललाई १२५ वडाका विवादित सदस्यताको हकमा समाधान निकालेको प्रवक्ता प्रदीप पौडेलले जानकारी दिएका छन् ।

सप्तरी र बाराको जिल्लामा नयाँ सदस्य र नवीकरणमा विवाद रहेको जनाउँदै समितिले त्यसमा समाधान निकाल्ने जिम्मेवारी शीर्ष तहलाई सुम्पेको छ । सिन्धुपाल्चोक र रसुवामा समायोजनका क्रममा अस्पष्ट भएको निष्कर्ष निकाल्दै समितिले प्रतिवेदन बुझाएको छ ।

धनुषा–४ को विवादमा समितिले समाधान निकाल्न सकेको छैन । धनुषा– ४ मा भएको विवादलाई लिएर जिल्ला तहका नेताहरू एक साता अघिदेखि केन्द्रीय कार्यालयमा धर्नामा छन् ।

सर्लाही– २ को विवाद समाधानको जिम्मेवारी पनि शीर्ष तहलाई सुम्पने निर्णय समितिमा भएको छ । ६ हजार ७४३ वडामध्ये २ प्रतिशत वडामा मात्रै १४औं महाधिवेशनका क्रियाशील सदस्य टुंगिन बाँकी छ ।

क्रियाशील सदस्यताको सन्दर्भमा उजुरी दिने कतिपय उजुरीकर्तालाई समितिले द्वन्द्व नबढाउन भनेर सम्झाउने काम गरेको प्रवक्ता पौडेलले बताएका छन् ।

८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्य हुन् । उनीहरूको नवीकरण गरिएको हो ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले सभापति देउवालाई बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको उल्लेख छ ।

कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिबाट प्राप्त क्रियाशीलको विवरण प्रतिवेदनमा समावेश गरेको छैन ।

प्रतिवेदनअनुसार कांग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील छन् भने महिला एक लाख ९९ हजार ९७ जना छन् । अन्यतर्फ भने १७६ जना छन् ।

उमेरअनुसार हेर्दा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार चार सय २७ जना क्रियाशील छन् । २६ देखि ४० वर्षसम्मका २ लाख ४९ हजार ७ सय ७४ जना छन् । कांग्रेसमा यसपटक युवाको आकर्षण देखिएको छ ।

४१ देखि ६० वर्ष उमेर समूहका धेरै क्रियाशील छन् । तीन लाख २८ हजार दुई सय ३४ जना क्रियाशील यो समूहबाट छन् ।

यस्तै ६१ देखि ७५ वर्ष उमेरका ८३ हजार १० जना छन् भने ७५ वर्षभन्दा माथिका ११ हजार ७ सय ८२ जना मात्रै छन् ।

अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन् । मधेशीतर्फ ९५ हजार १ सय ४१, मुश्लिम १६ हजार ९ सय ७०, थारूतर्फ २७ हजार ६ सय १५, अपांगता भएकातर्फ दुई सय १, पीछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११, दलित ४५ हजार चार सय १७ जना छन् ।

प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन् । प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन् ।

Published : Tuesday, 2021 July 27, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया