जुवा खेल्ने ६ महिलासहित काठमाडौंमा २० जनाको ग्याङ पक्राउ

काठमाडौं । काठमाडौंको भेटेबहाल र नयाँबजारमा प्रहरीले छापामारेर ६ जना महिलासहित २० जनालाई नगदसहित पक्राउ गरेको छ ।

प्रहरीले भोटेबहाल बस्ने ५० वर्षीय दिनेशकुमार शेरचनको घरमा तास खेलिरहेको १२ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा शेरचन पनि छन् । १२ जनाको समूहमा रहेका जुवाडमा ६ जना महिला छन् । उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरिएको थियो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९१ हजार ४ सय रुपियाँ, २१ सेट तास, ४५ वटा क्वाईन र ३ लाख ७० हजार रुपयाँको बिभिन्न बैंकका ५ वटा चेकसहित पक्राउ गरेको जनाएको छ ।

उता, काठमाडौंकै नयाँबजारको नयाँपुल चोकस्थित महमद नुर हुसेनको टहरामा तास खेलिरहेको अवस्थामा भारत घर भएका २४ वर्षीय महमद सुलेमान लगायत ८ जनालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।

टहरामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ७ सय ९० रुपियाँ र ३ गड्डी ताससहित पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 July 22, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया