डीआईजी सिंहको टिमले काठमाडौंमा गर्‍यो अर्को ठूलो काम फत्ते

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १९ करोडभन्दा धेरै रुपियाँ बराबरका चेकहरूसहित गणेश उप्रेतीलाई पक्राउ गरेको छ ।

सीआईबीका प्रमुख (डीआईजी) धिरजप्रताप सिंहले विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपियाँ बराबरको चेकहरूसहित उप्रेतीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ३३ वर्षीय उप्रेती दोलखा जिल्लाको मेलुङ गाउँपालिका–१ घर भई हाल ललितपुर भैसेपाटीमा बस्दै आएका थिए । उनलाई काठमाडौं महानगरपालिका–७ चाबहिलको मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट शुक्रबार प्रहरीले पक्राउ गरेको डीआईजी सिंहले जानकारी दिए ।

‘भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट बिभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटर ब्याज लगाई प्रकाशबाट ४ करोड १६ लाख रुपियाँको चेकहरू र हेमराजबाट ४ करोड १४ लाख रुपियाँको चेकहरू लिई सो बापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ’, डीआईजी सिंहले भनेका छन् ।

डीआईजी सिंहले सीआईबीको कमाण्ड सम्हालेसँगै चेक बाउन्ट र अपराधका घटनाहरूमा कडाइ गरेका छन् ।

Published : Sunday, 2021 July 18, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया