केपी ओलीका डाइहार्ड फ्यान ठूलै गुण्डा नाइके पक्राउ, महेश बस्नेतलाई चिन्ता

काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले काठमाडौंमा सरकार, कांग्रेसका नेताद्वय विजयकुमार गच्छदार र मोहम्मद अफ्ताब आलमविरुद्ध प्रदर्शन गरिरहेका बेला खड्गप्रसाद ओलीका युवा नेता काभ्रेमा पक्राउ परेका छन् ।

युवा संघका काभ्रेका नेतासमेत रहेका गुण्डा नाइके सत्यमान लामालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । लामालाई करिब १ करोड रुपियाँ बराबरको चेक बाउन्स मुद्दामा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट बिहीबार पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका लामा एमाले काभ्रेका युवा नेता पनि हुन् । उनी ओली र महेश बस्नेतका डाइहार्ड फ्यान पनि हुन् ।

चेक बाउन्स मुद्दामा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि लामालाई पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । पक्राउ परेका लामाविरुद्ध चेक बाउन्सको मुद्धा काठमाडौंमा परेको छ ।

लामाविरुद्ध रामकुमार थापा क्षेत्री र सुरज सापकोटा चेक बाउन्समा उजुरी दिएका छन् । लामाले माघ २० गते क्षेत्रीलाई दिएको ७० लाखको चेक पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो । सापकोटालाई दिएको २२ लाखको चेक पनि पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो ।

एमाले निकटका गुण्डा नाइके लामा पटक–पटक विभिन्न अपराधमा पक्राउ परिसकेका छन् । उनी काठमाडौं प्रहरीको सूचीमा अग्रस्थानमा छन् । प्रहरीले लामालाई सधैँ उच्च निगरानीमा राख्दै आएको छ ।

यसअघि पनि जिल्ला महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गर्दा गुण्डा नाइके लामालाई छुटाउन एमाले नेतृ नवीना लामा प्रहरी कार्यालय नै पुगेकी थिइन् । नवीना लामाले प्रहरीसँग सत्यमान लामालाई छुटाउन विवाद गरेकी थिइन् ।

Published : Thursday, 2021 July 15, 11:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया